
धनकुटा । धनकुटा नगरपालिका-६ स्थित अमलेटारमा स्थानीयलाई उद्यमी बनाउने उद्देश्यले औद्योगिक ग्राम निर्माण भएको थियो । २०३९ सालमा करिब ६० रोपनी जग्गा अधिग्रहण गरेर १८ करोड लागतमा औद्योगिक ग्राम निर्माण गरिएपनि उद्देश्य अनुरूप सञ्चालन हुन सकेको छैन ।
औद्योगिक ग्राममा आवश्यक पर्ने सोही अनुसारका भवन तथा भौतिक पूर्वाधार निर्माण गरिएको छ । ६० वटा उद्योग सञ्चालनको क्षमता भएपनि हाल १६ वटा मात्रै उद्योग सञ्चालनमा छन् । जसबाट औद्योगिक ग्राम पूर्णरूपमा सञ्चालन गर्न चुनौती थपिएको स्पष्ट हुन्छ ।
गत आर्थिक वर्षमा २ वटा मात्रै उद्योग थप भएका छन् । स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापनाका लागि निर्माण भएको औद्योगिक ग्राम वर्षौँपछि सञ्चालनमा आएको थियो । तर जुन उद्देश्यले निर्माण गरिएको हो, त्यही अनुसार सञ्चालन हुन नसकेको जानकारहरू बताउँछन् ।
लगानी अनुसार औद्योगिक ग्राम सञ्चालनमा आउन नसकेको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख मेघराज बस्नेतले बताए । ‘अघिल्लो आर्थिक वर्षमा १४ वटा उद्योग स्थापना भए’, उनले भने, ‘गत आर्थिक वर्षमा २ वटा मात्र नयाँ उद्योग थपिए ।’
औद्योगिक ग्रामसम्म पुग्नका लागि सडक पनि निर्माण भइसकेको छ । यस्तै खानेपानी व्यवस्थापन लगायतमा समेत ठूलो रकम खर्च भएको छ । औद्योगिक ग्राममा निर्माण गरिएका भवनमा उद्योग सञ्चालन गर्न उद्यमीले चासो नदेखाउँदा लगानी त्यसै खेर जाने अवस्थामा पुगेको छ ।
घरेलु तथा साना उद्योग कार्यालयले उद्यम गर्न चाहनेहरूका लागि औजार तथा मेसिन खरिदका लागि ८० प्रतिशत अनुदानमा दिने गरेको छ । तर पनि उद्यम गर्न चाहनेहरू खासै नदेखिएका कार्यालयको भनाइ छ । उद्योगहरू सञ्चालन गर्न सकेमा स्थानीय कच्चा पदार्थको खपतसँगै स्थानीयले रोजगारीको अवसर पाउने बस्नेतको भनाइ छ ।
बजारीकरणको समस्याले उद्योग सञ्चालनमा समस्या हुने गरेको उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले बताए । ‘उत्पादन भएको बस्तु निर्यात नहुँदा थप समस्या हुन्छ’, उनले भने, ‘स्थानीय सरकारसँग समन्वय गरेर औद्योगिक ग्रामलाई पूर्णरूपमा सञ्चालन गर्न आवश्यक पहल भइरहेको छ ।’

सन्तोष सुवेदी/संगालोखबर 













