
धनकुटा । धनकुटामा नेकपा एमालेले संविधान रक्षाका लागि भन्दै जनप्रदर्शन गरेको छ । लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि संविधान दिवसको अवसर पारेर आज जिल्ला कमिटीले जनप्रदर्शन गरेको हो ।
‘संविधानको रक्षा गरौँ, प्रतिगमन हुनबाट जोगाऔं, लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौँ, प्राप्त उपलब्धिहरूको संरक्षण गरौँ’ लगायतका नारा लगाउँदै जनप्रर्दशन गरिएको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछिका गतिविधिले गणतन्त्र धरापमा पर्ने सम्भावना बढेको भन्दै त्यसको विरोधमा जनप्रर्दशन गरिएको एमाले धनकुटाले जनाएको छ ।

मदन चोकबाट निकालिएको शान्तिपूर्ण र्याली परिचय मोड, भिमषेन थान, भिमनारायण चोक, माथिल्लो कोप्चे, तल्लो कोप्चे, बिहीबारे हटिया, टुँडिखेल हुँदै पुनः मदन चोकमा आएर कोण सभामा परिणत भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व खानेपानी मन्त्री राजेन्द्र राईले नेपालीहरूको लामो प्रयास र बलिदानीले ल्याएको संविधान रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताए ।

‘जसरी हिजो लोकतन्त्र र गणतन्त्रका लागि लड्यौ, त्यसरी नै संविधान रक्षाका लागि लड्नुपर्छ’, उनले भने, ‘यसका लागि आम नेपालीहरू एकजुट हुनुपर्छ । हामीले गरेका कमीकमजोरी मनन गरेर हामी सुधार गर्छौँ ।’
उनले जेनजीको शान्तिपूर्ण आन्दोलनमा आफूहरूको पनि साथ भएको तर बीचमा घुसपैठ हुँदा अहिलेको अवस्था सिर्जना भएको उल्लेख गरे । उनले आन्दोलनका नाममा सरकारी कार्यालयमा आगजनी र तोडफोड हुँदा ठूलो क्षति भएको बताए ।

उनले आन्दोलनमा घुसपैठ गर्ने जो-कोहीलाई पनि तत्कालै अनुसन्धान गरी कारबाहीको दायरामा ल्याइनुपर्ने उल्लेख गरे । जनप्रदर्शनमा एमालेबाट निर्वाचित जनप्रतिनिधि, एमाले धनकुटाका नेता तथा कार्यकर्ताहरू सहभागि थिए ।


तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

सन्तोष सुवेदी/संगालोखबर 













