
धनकुटा । धनकुटामा तरकारी उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा तरकारी उत्पादन बढेको हो । पछिल्लो समय व्यवसायिक कृषि कर्ममा लाग्ने कृषकहरूको संख्या बढेसँगै तरकारी उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।
धनकुटामा गत आर्थिक वर्ष १ लाख ६४ हजार २ सय १८ मेट्रिक टन तरकारी उत्पादन भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा १ लाख ३७ हजार ४ सय ४८ मेट्रिक टन तरकारी उत्पादन भएको थियो । मौसमी तथा बेमौसमी तरकारी उत्पादनमा धनकुटा कोशीका पहाडी जिल्लामा अग्र स्थानमा देखिएको केन्द्रले जनाएको छ ।
कोशी पहाडका भोजपुर, तेह्रथुम र सङ्खुवासभा जिल्लाको तुलनामा धनकुटामा तरकारी उत्पादन बढी रहेको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र रानाले जानकारी दिए । उनका अनुसार धनकुटाका किसानहरूले व्यवसायिक रूपमा बन्दाकोपी, काउली, गोलभेँडा, मुला, रायो साग लगायत तरकारी उत्पादन गर्ने गरेका छन् ।
उत्पादन भएको करिब ९० प्रतिशत तरकारी जिल्ला बाहिर निर्यात हुने गरेको छ । धनकुटामा उत्पादन भएको तरकारी धरान, इटहरी, विराटनगर, दमक, बिर्तामोड तथा भारत, बङ्गलादेश र भुटानसम्म पुग्ने गरेको छ ।

ज्ञान केन्द्रको तथ्याङ्क अनुसार धनकुटामा गत आर्थिक वर्षमा बन्दाकोपी ३९ हजार ९ सय ८७, फूलकोपी ११ हजार ७ सय २७ दशमलब ९६, मुला १० हजार १ सय ३८, गाँजर ३ हजार ६ सय ६५, मटर कोसा ३ सय ३३, गोलभेडा ५६ हजार ४ सय २९, आलु ४१ हजार १ सय ३९ दशमलब ३ सय ३२ र अकबरे खोर्सानी ८ सय मेट्रिक टन उत्पादन भएको थियो ।
जिल्लाको छथर जोरपाटी र महालक्ष्मीको प्राय क्षेत्र, धनकुटा नगरपालिका र पाख्रीबासका केही क्षेत्रमा तराकारी उत्पादन हुने गरेको छ । विशेषगरी वैदेशिक रोजगारबाट फर्केका युवा व्यवसायिक तरकारी खेतीमा लागेका छन् । जिल्लाको कुल जनसंख्याको करिब ४० प्रतिशत मानिस व्यवसायिक कृषि कर्ममा संलग्न रहेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।

सन्तोष सुवेदी/संगालोखबर 













