
धनकुटा । धनकुटामा अलैँची उत्पादनमा वृद्धि भएको छ । खोल्सीको ‘कालो सुन’ ले परिचित अलैँची उत्पादनमा वृद्धि भएसँगै निर्यात पनि बढेको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा आठ करोड ५० लाख ६३ हजार बढीको अलैँची निर्यात भएको कृषि ज्ञान केन्द्रले धनकुटाले जनाएको छ । ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा गतवर्ष ५ दशमलव २ मेट्रिक टन अर्थात एक करोड चार लाख बराबरको अलैँची निर्यात भएको हो ।
गत आर्थिक वर्ष धनकुटामा करिब एक सय २७ हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिएको थियो । कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाका अनुसार उक्त क्षेत्रफलबाट करिब ४० मेट्रिक टन अलैँची उत्पादन भएको थियो ।
पछिल्लो समय अलैँचीले राम्रो मूल्य पाउन थालेसँगै कृषकहरू यसको खेतीतर्फ आकर्षित हुन थालेका छन् । अलैँची अहिले प्रतिमन ७५ हजारदेखि ९५ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।
रोगको प्रकोपबाट सखाप भएका अलैँची बगान पनि पछिल्लो समय उत्पादन दिने अवस्थामा पुगेका ज्ञान केन्द्रका प्रमुख रानाले बताए । अलैँची खोल्साखोल्सी, भिरालो तथा ओसिलो जमिनमा उत्पादन हुन्छ ।

सन्तोष सुवेदी/संगालोखबर 













