
धनकुटा । समय यस्तो पनि थियो, पुस्तक तथा पत्रपत्रिका पढ्न पुस्तकालयमा मानिसहरूको घुँइचो नै लाग्थ्यो । युवा देखि वृद्धवृद्धाहरू साँझ बिहान पुस्तकालयमा भेटिन्थे । तर प्रविधिको पँहुच र सामाजिक सञ्जालका कारण आजभोलि पठन संस्कृति लोप हुन थालेसँगै पुस्तकालयहरू पनि सुनसान हुन थालेका छन् ।
वि.स. २०६८ सालमा धनकुटाको देवानटारमा स्थापना गरिएको गार्गचार्य सामुदायिक विश्वभाषा पुस्तकालय पछिल्लो समय पाठकविहीन बनेको छ । पुस्तकले पाठक खोजेपनि पाठक भने प्रविधिको युगमा सामाजिक सञ्जालमा रमाइरहेका छन् ।
पठन संस्कृति घट्दा पुस्तकालयको अस्तित्व जोखिममा पर्ने खतरा बढेको जानकारहरू बताउँछन् । गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालय स्थापनाका लागि टीकाप्रसाद लामिछानेले दुई तले पक्की घरसहित २ करोडको जायजेथा पुस्तकालयलाई दान गरेका थिए । पुस्तकालयमा हजारौं पुस्तक छन् तर पाठकको अभाव छ । यस पुस्तकालयमा विभिन्न भाषा तथा विधाका १६ हजार ३ सय १४ पुस्तक र १३ हजार ७ सय ६५ पत्रिका सङ्ग्रहित छन् ।
नयाँ पुस्ता इमेल इन्टरनेटमा अलमलिएपछि पुस्तक अध्ययनमा कमी आएको पुस्तकालयका जानकार तथा साहित्यकार घनश्याम बरालले बताए । ‘कुनै समय पठन-पाठनका लागि पुस्तकालयमा भीडभाड हुन्थ्यो’, बरालले भने, ‘अहिलेको पुस्तामा पुस्तक प्रतिको मोह घट्दै जाँदा पुस्तकालयहरू ओझेलमा परेका हुन् ।’

पुस्तकालयलाई पहिलाकै अवस्थामा फर्काउन युवा पुस्तामा पठन मोह जागृत हुन आवश्यक रहेको गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयका संस्थापक तथा संरक्षक टिकाप्रसाद लामिछानेले बताए । ‘अहिलेको पुस्ता पुस्तकालयप्रति चासो नै राख्दैनन्’, उनले भने, ‘हरेक वर्ष भदौ १५ गते पुस्तकालय दिवस त मनाइन्छ । तर पुस्तकालय सुनसान छन् ।’
धनकुटा नगरपालिका-६ मा रहेको पुस्तकालय यतिबेला गोदाममा परिणत भइसकेको छ । नगर पञ्चायतद्वारा २०४१ सालमा निर्माण गरिएको यो धनकुटाको पुरानो पुस्तकालय पनि हो । पाठक अभावमा बन्द अवस्थामा पुगेको पुस्तकालयमा गमला, टेबल, कुर्सी र अन्य सामान मात्रै देखिन्छ ।
पछिल्लो समय पाठकलाई आकर्षित गर्नका लागि सुविधासम्पन्न पुस्तकालयहरू निर्माण हुने क्रम पनि जारी छ । यसको उदाहरणका रूपमा सिधुवा छथर जोरपाटी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई लिन सकिन्छ ।
गतवर्ष जापान सरकार र गाउँपालिकाको साझेदारीमा निर्माण भएको पुस्तकालय सुविधासम्पन्न छ । पुस्तकालय निर्माणमा जापान सरकारको एक करोड ६२ लाख, गाउँपालिकाको ५० लाख र स्थानीयको ३० हजारसहित कुल दुई करोड १२ लाख ३० हजार लगानी भएको छ ।
पुस्तकालयमा बालबालिका कक्ष, युवा अतिरिक्त, महिला, बहुप्राविधिक, आइसिटी, पुस्तकालय र जोखिम न्यूनिकरण कक्ष साथै अपाङमैत्री कक्ष निर्माण गरिएको छ । तर पनि अपेक्षाकृत पाठकहरू पुस्तकालयमा पुग्न नसकेको पाइन्छ ।

सन्तोष सुवेदी/संगालोखबर 













