
पाँचथर । पाँचथरमा बाढीका कारण खोलामा फसेका चार जना मानिसको सकुशल उद्धार गरिएको छ । याङवरक गाउँपालिका-२ स्थित ईवा खोलामा अचानक आएको बाढीका कारण खोलाको बीच भागमा फसेका उनीहरूको उद्धार गरिएको हो ।
फिदिम नगरपालिका-४ का १९ वर्षीय प्रतीक तामाङ, २३ वर्षीय झल्ला सम्बाहाम्फे, २८ वर्षीय शेर बहादुर मगर र ताप्लेजुङ सिदिङवाका २२ वर्षीय सन्तोष पन्धाकको उद्दार गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भदौ १० गते साँझ याङवरक गाउँपालिका र ताप्लेजुङको सिदिङवा गाउँपालिकाको सिमानामा रहेको खोलामा पाहा मार्न गएका उनीहरू बाढीका कारण फसेका थिए ।
पानी पर्नुका साथै खोलामा आएको बाढीका कारण सो दिन उनीहरूको उद्धार हुन सकेको थिएन । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार त्यो राति उनीहरू ठूलो ढुङ्गाको ओतमा आगो तापेर बसेका थिए ।
उनीहरूलाई चाउचाउ र लाइटर पोको पारेर दिइएको थियो । उनीहरूलाई बुधबार बिहान स्थानीयको सहयोगमा बाँसको पुल बनाएर उद्धार गरिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 













