संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश स्वास्थ्य नीति २०८२ सार्वजनिक गरेको छ । प्रदेशका सबै नागरिक शारीरिक, मानसिक, सामाजिक र भावनात्मक रूपमा स्वस्थ रही उत्पादनशील जीवन यापन गर्न सक्षम हुने उद्देश्यका साथ स्वास्थ्य नीति बनाइएको हो ।

६ वटा उद्देश्य र २६ वटा नीति तथा रणनीति रहेको प्रदेश स्वास्थ्य नीति कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को गत साउन १६ गतेको बैठकले स्वीकृत गरेको थियो । स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केनिन राईका अनुसार मन्त्रिपरिषद्बाट स्वीकृत स्वास्थ्य नीति आइतबार वेवसाइट र मन्त्रालयको फेसबुक पेजमा राखिएको छ ।

Advertisement

स्वास्थ्य नीति अनुसार कोशी प्रदेशमा सर्वसुलभ र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाका लागि पर्याप्त र व्यवस्थित पूर्वाधार नहुनु, प्रदेश तहका अस्पतालबाट कतिपय सेवाहरू गुणस्तरीय रूपमा प्रवाह हुन नसक्नु लगायतका समस्या देखाइएको छ ।

यस्तै स्वास्थ्य क्षेत्रको आवश्यकता अनुसार पर्याप्त जनशक्तिको दरबन्दी नहुनु र उपलब्ध जनशक्तिको समेत उचित व्यवस्थापन हुन नसक्नु, स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार पर्याप्त र उचित लगानी हुन नसक्नु मुख्य समस्या देखाइएको छ ।

यसैगरी विशेषज्ञ चिकित्सकीय सेवा र सघन उपचार सेवा विस्तार हुन नसक्नु, पाँच वर्षमुनिका एक तिहाइ बालबालिकामा रक्त अल्पता र प्रजनन उमेरका महिलामा न्यून पोषणको समस्या व्याप्त हुनु, क्षयरोग, कुष्ठ रोग, उपेक्षित उष्णप्रदेशीय रोग तथा कीट जन्य रोगको सङ्क्रमण दर प्रदेशमा उच्च हुनु मुख्य समस्याका रूपमा रहेका छन् ।

स्वास्थ्य नीतिको लक्ष्य ‘स्वस्थ मानव पुँजी, समृद्ध प्रदेश’ रहेको छ । कोशी प्रदेश भित्रका विद्यमान, सम्भावित, उदीयमान, पुन: उदीयमान र स्वास्थ्य चुनौतीहरू समाधान गर्न प्रदेश स्वास्थ्य नीति बनाइएको उल्लेख गरिएको छ ।

राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण (२०२०) अनुसार कोशी प्रदेशमा मानसिक स्वास्थ्य समस्याहरू अन्य प्रदेशहरूको तुलनामा उच्च रहेको पाइएको छ । यस सर्वेक्षणका अनुसार, मानसिक रोगको व्यापकता १३.९५, किशोरावस्थामा मानसिक रोग ११.४५, मद्यपानको लत ६.५५,लागू औषधको दुर्व्यसन ०.४५ र आत्महत्याको सोचको व्यापकता १०.६५ रहेको छ ।

पूर्णपाठ हेर्न (यहाँ) क्लिक गर्नुहोस् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!