
रौतहट । रौतहटमा सुटकेशभित्र महिलाको शव भेटिएको छ । मृतक महिला रौतहटको माधवनारायण नगरपालिका-६ माधवपुर माइती भएकी २६ वर्षीया रूवीकुमारी साह रहेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृतककी आमा र दाइले शवको सनाखत गरेका हुन् । प्रहरीका अनुसार मृतकको घर भारतको मुजफ्फरपुर रहेको खुलेको छ । उनी चार वर्षदेखि रौतहटमा बस्दै आएकी थिइन् ।
प्रहरीका अनुसार ती महिला माइती माधवपुर भए पनि छोरा पढाउन भनेर गौर नगरपालिका-२ महादेवपट्टि बस्दै आएकी थिइन् भने उनको श्रीमान भने भारतमै छन् ।
शनिबार राति साढे ९ बजे रौतहटको गौर नगरपालिका-९ गौर-सिरसिया सडक खण्ड अन्तर्गत मुडवलबा गेट नजिक सडक किनारमा शंकास्पद सुटकेस फेला परेपछि प्रहरीले रातभर रुँगेर बसेको थियो । प्रहरीका अनुसार सुटकेस डोरीले बाँधिएको अवस्थामा थियो ।
बिहान सुटकेस खोलेर हेर्दा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । घाँटीमा डोरी र सलले बाँधिएको अवस्थामा सुटकेसभित्र महिलाको शव फेला पारिएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ र थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

संगालोखबर 













