
धनकुटा । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) ईश्वर कार्कीले लागूऔषध कारोबार नियन्त्रणका लागि निर्देश दिएका छन् ।
आज जिल्ला प्रहरी कार्यालय धनकुटामा नियमित अनुगमन तथा निरीक्षणमा आएका डिआइजी कार्कीले प्रहरीलाई यस्तो निर्देशन दिएका हुन् ।
उनले पछिल्लो समय कोशी प्रदेशका केही जिल्लामा लागूऔषध कारोबार फस्टाउँदै गएको बताए । यसको विशेष निगरानीका लागि जिल्ला प्रहरी कार्यालय मातहतका सबै प्रहरी कार्यालयलाई चलायमान बनाउँदै अनुसन्धानमा खटिनु पर्नेमा उनले जोड दिए ।
नेपाल र भारतीय सिमा नाका खुला भएका कारण लागूऔषध भित्रिने गरेको भन्दै उनले नेपालका धेरै युवा यसको दलदलमा फसेका बताए । भारतमा लागूऔषध नियन्त्रण भन्दा बाहिर रहेका कारण नेपाली प्रयोगकर्ता र ओसार-पसार गर्नेको संख्या बढिरहेको उनको भनाइ थियो ।
विगतको तुलनामा पछिल्ला समय प्रहरीले दैनिक ठूलो मात्रामा लागूऔषध नियन्त्रण गर्न सफल भएको उनले उल्लेख गरे । पछिल्लो समय लागूऔषधका बिर्तामोड र केराबारीका डिलरहरूलाई नियन्त्रणमा लिएको उनले बताए ।

त्यसका लागि हवाई फायर गर्नुपरेको अवस्था स्मरण गर्दै डीआइजी कार्कीले जिल्लामा पनि ओसार-पसार तथा बेचबिखन गर्नेलाई नियन्त्रणमा लिनुपर्ने उल्लेख गरे ।
उनले लागूऔषध नियन्त्रणमा लिन कोशी प्रदेशका सबै जिल्लामा विशेष टोली परिचालन गरिएको जानकारी दिए । आफ्ना सन्तानलाई लागूऔषधको कुलतमा फस्नबाट जोगाउन अभिभावकले पनि विशेष भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।
भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाको प्राङ्गणमा सेवाग्राहीका लागि विश्रामालय निर्माणमा सहयोग गर्ने धनकुटाका समाजसेवी द्रोणप्रसाद गुरागाईंलाई सम्मान गरिएको थियो ।

सन्तोष सुवेदी/संगालोखबर 













