
ताप्लेजुङ । नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश कुमार भट्टराईले निजी क्षेत्रले गरिरहेको विकासमा अवरोध पुर्याउन नहुने बताएका छन् ।
आज प्रेस चौतारी नेपाल ताप्लेजुङले सदरमुकाम फुङ्लिङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले यस्तो बताएका हुन् । उनले विकास निर्माणका काममा जिल्लावासी सबैको साथ सहयोग हुनुपर्ने बताए ।
विकासका गतिविधिहरूले पहिचानको विषयमा खेलबाड गरेको भए आफूहरू त्यसको विपक्षमा रहेको तर लेनदेनको विषयमा कुरा नमिलेर अवरोध गर्नु निन्दनीय भएको उनको भनाइ थियो ।
उनले हेवा खोलाको मोडुलर बेली ब्रिजको विकल्पमा पक्की मोटररेबल पुल बनाउने प्रतिबद्धता व्यक्त गरे । यस वर्षभित्रै तमोर करिडोरको पाँचथर खण्ड कालोपत्रे सम्पन्न गरी ताप्लेजुङ सडक खण्डमा समेत कालोपत्रे प्रारम्भ गरिने बताए ।
स्थानीय तह अन्तर्गत पालिकाको सङ्ख्या घटाई अधिकार सम्पन्न बनाउने र संवैधानिक आयोगका संस्थाहरूलाई पनि आवश्यक रूपमा घटाउने जस्ता विषयहरू संविधान संशोधनमा पर्न सक्ने उनको भनाइ छ ।

संगालोखबर 













