
धनकुटा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले समाजलाई आर्थिक रूपमा व्यवसायिक बनाउनुपर्ने बताएका छन् । आज अखिल नेपाल महिला सङ्घ जिल्ला कमिटी धनकुटाको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।
कोशी प्रदेश सरकारले समाजलाई सबल बनाउँदै लैजाने बताउँदै उनले आर्थिक रूपमा ले व्यवसायिक बनाउनतर्फ लागिपरेको बताए । समाज र परिवार व्यवसायिक ढङ्गले अगाडि बढेको खण्डमा मात्रै वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्ने उनको भनाइ छ ।
वैदेशिक रोजगारीमा गएकामध्ये दैनिक जसो एक जनाको मृत्यु हुने र बाकसमा लाश आउने बताउँदै मुख्यमन्त्री कार्कीले त्यसको अन्त्यका लागि प्रदेश सरकारले विभिन्न सीपमूलक, व्यवसायिक, कृषि तथा उद्योगलगायतमा अनुदान कार्यक्रम ल्याएको बताए ।
कोशीमा कृषि र घरेलु तथा व्यवसायिक सीप लगायतमा धनकुटाका महिलाको अग्रणी स्थान रहेको मुख्यमन्त्री कार्कीको भनाइ थियो । ढाका उद्योगमा धनकुटा उत्कृष्ट भएर सम्मान पाएको उदाहरण दिँदै उनले जुनसुकै उद्यम गर्ने महिलालाई स्थानीय र प्रदेश सरकारले साथ सपोर्ट गर्ने बताए ।
प्रदेश सरकारले महिलाहरूका लागि बिना धितो २० लाखदेखि माथि ६ प्रतिशत व्याजमा अनुदान तथा सामूहिक व्यवसाय संचालका लागि ऋण दिने योजना रहेको उनको भनाइ छ ।
यस्तै व्याज अनुदान कार्यक्रममा सहकारी, लघुवित्त, बैंक लगायतबाट सरकार तथा निजी संस्थाहरूमार्फत ऋण दिने व्यवस्था मिलाएको बताए । त्यसका लागि प्रदेश सरकारले स्विस सरकारसँग ६ अर्ब सम्झौता गरेको उनको भनाइ थियो ।
कोशी प्रदेश सरकारले पर्यटन वर्ष मनाई रहेकाले पदमार्ग, हिमाल आरोहण, धार्मिक पर्यटन लगायतलाई मध्यनजर गरेर होमस्टे संचालन गर्नुपर्ने उनको भनाइ थियो । यस्तै केबलकारलगायतका परियोजना संचालनको तयारीमा रहेकाले हजारौंले रोजगारी पाउने मुख्यमन्त्री कार्कीले बताए ।

सन्तोष सुवेदी/संगालोखबर 













