
विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका-९ अजगरामा जंगली च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी परेका छन् ।
बिरामी पर्नेमा ८५ वर्षीया गवनी सदा, ६० वर्षीया गीता सदा, ३१ वर्षीया संजु सदा, २९ वर्षीया मन्जु सदा, २९ वर्षीया सरिता सदा, १० वर्षीया सन्ध्या सदा, ११ वर्षीया सन्जा सदा र वर्ष ५५ का लल्कु सदा छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गवनी, गीता र सरितालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । अन्य पाँच जनाको नगर अस्पताल बेल्टारमै उपचार भइरहेको उदयपुरका प्रहरी प्रवक्ता डीएसपी केदारमान दोङले जानकारी दिए ।
प्रहरीका अनुसार सदा परिवारले मंगलबार बिहान घर नजिकैको जंगलबाट ल्याएर च्याउको तरकारी खाएका थिए । च्याउको तरकारी खाएसँगै उनीहरूमा बान्ता हुने, टाउको दुख्ने जस्ता समस्या देखिएको थियो ।
अहिले उनीहरू अवस्थामा सुधार आइरहेको जानकारी प्राप्त भएको डीएसपी दोङले संगालोखबरलाई जानकारी दिए ।

संगालोखबर 













