
धनकुटा । देशका विभिन्न स्थानमा जस्तै धनकुटामा पनि आज गाईजात्रा पर्व मनाइएको छ । नेवार समुदायको बसोबास रहेको क्षेत्रमा मनाइने गाईजात्रा पर्वमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तलाई सम्झने गरिन्छ ।
धनकुटाको श्रीवानीस्थित कृष्ण मन्दिरबाट सुरु भएको जात्रालाई बजार क्षेत्र परिक्रमा गराइएको छ । बजार क्षेत्रमा एक वर्षभित्र दिवङ्गत भएका १४ घर परिवारका नाममा जात्रा निकालिएको हो ।

जात्रा मदन चोक, परिचय मोड, भीमसेनथान, भीमनारायण चोक, माथिल्लो कोप्चे, हटिया, तल्लो कोप्चे हुँदै तल्लो टुँडिखेल पुगेर समापन गरिएको छ । बजार परिक्रमा गरिरहेका बेला सहभागीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरेका थिए ।

यसरी नगर परिक्रमा गर्दा मृत्यु भएका व्यक्ति गाईको पुच्छर समातेर वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । भाद्र कृष्णाष्टमीका दिनसम्म मनाइने यस
पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका करुण रसका गीत पनि गाइन्छन् । गाईजात्राका अवसरमा धनकुटा नगरपालिकाले आज सार्वजनिक बिदा समेत दिएको छ।






तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

सन्तोष सुवेदी/संगालोखबर 













