
धनकुटा । धनकुटा नगरपालिका-८ टेकुनालामा पिकअप दुर्घटना १३ जना घाइते भएका छन् । घाइते भएकामध्ये चार जनालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको छ ।
अन्य घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको धनकुटा प्रहरीका निरीक्षक किशोर तामाङले जानकारी दिए । पिकअपमा २१ जना सवार रहेको खुलेको प्रहरीको भनाइ छ ।
‘अलि बढी चोट लागेका तीनलाई थप उपचारका लागि घोपा पठाइएको छ’, प्रहरी निरीक्षक तामाङले संगालोखबरसँग भने, ‘एक जना ९० वर्षीय वृद्धलाई चोट नदेखिएपनि चेकअपका लागि घोपा पठाएका छौं ।’
पिकअप सडकबाट करिब ५ मिटर तल खसेर आँपको रुखमा अडकिएको छ । उकालो बाटोमा आफैँ अनियन्त्रित भएर पिकअप दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
लाखे जात्रामा सहभागी हुने यात्रु बोकेर टेकुनालाबाट धनकुटा बजारतर्फ आउँदै गरेको बा २ च २३०९ नम्बरको पिकअप आज बिहान करिब १०ः३५ बजे दुर्घटनामा परेको थियो । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

संगालोखबर 













