
विराटनगर । नेकपा एमाले धनकुटाले जिल्लाको विकास र समृद्धिका लागि आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । एमाले धनकुटाको प्रतिनिधिमूलक टोलीले विराटनगरमा मुख्यमन्त्री कार्कीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।
एमाले केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार राई, प्रदेश सभा सदस्य निरन राई, एमाले जिल्ला अध्यक्ष शिव आङ्ला, सचिव पर्शुराम नेपालसहितको टोलीले मुख्यमन्त्रीलाई भेटेर स्मरण पत्र बुझाएको हो ।
जिल्लाको समृद्धि र विकासका लागि विकास निर्माण लगायत अन्य सवालहरूलाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्न उनीहरूले मुख्यमन्त्री कार्कीलाई आग्रह गरेका छन् । मनमोहन प्राविधिक विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएर धनकुटामा सञ्चालन हुन लागेको मेडिकल कलेज स्थापना र सञ्चालनको यथाशीघ्र कार्यान्वयन गराइदिन मुख्यमन्त्रीलाई अनुरोध गरिएको छ ।
यसैगरी सिधुवा बजारदेखि महालक्ष्मी नगरपालिकाको जीतपुर-रामबजार तथा सहिदभूमि गाउँपालिकाको थलथले बजारबाट प्रसिद्ध धार्मिक पर्यटकीय स्थल देवीथानसम्म कालोपत्रे गर्नका लागि थप बजेटको व्यवस्था गरि चाँडो काम सक्ने व्यवस्था मिलाउँन पनि मुख्यमन्त्रीलाई आग्रह गरिएको छ ।
सात वटै पालिका केन्द्रहरूमा ढल तथा नालीको समस्या समाधानका लागि बजेट व्यवस्था गर्न र पालिकाहरूले जग्गा वर्गीकरण गर्दा बजार केन्द्रहरूमा समस्या भएकाले वर्गीकरणको कामलाई यथाशीघ्र अघि बढाउन प्रदेश भूउपयोग परिषद गठन गर्न पनि आग्रह गरिएको छ ।

संगालोखबर 













