
विराटनगर । खोटाङको हलेसीबाट तीर्थयात्री बोकेर फर्कँदै गरेको माइक्रो दुर्घटनामा घाइते भएका मध्ये ६ जनालाई काठमाडौं रिफर गरिएको छ । घुर्मी स्वास्थ्य चौकीले उनीहरूलाई काठमाडौं रेफर गरेको हो ।
‘अन्य घाइतेहरूको घुर्मीमै उपचार भइरहेको छ । ६ जनालाई अस्पतालले काठमाडौं रेफर गरेको छ’, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी प्रतीक बिष्टले संगालोखबरसँग भने, ‘१७ जना घाइते भएका छन् । अहिलेसम्म घाइतेमध्ये केहीको मात्रै परिचय खुलेको छ । सबैको परिचय खुलाउने प्रयास भइरहेको छ ।’
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको डीएसपी विष्टले जानकारी दिए । अन्य घाइतेको अवस्था सामान्य र मध्यम रहेको उनको भनाइ छ ।
आज बिहान सिरहाको गोलबजारतर्फ जाँदै गरेको प्रदेश २-०१-००१ ज ००५३ नम्बरको माइक्रो हलेसी तुवाचुङ नगरपालिका-१ मा दुर्घटना भएको हो । गाडी चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ ।
सिरहाको नराहबाट तीर्थयात्रीहरू माइक्रो रिजर्भ गरेर हलेसी मन्दिर दर्शन गर्न गएका थिए । मन्दिर दर्शन गरेर फर्किने क्रममा दुर्घटना भएको हो ।

संगालोखबर 













