
विराटनगर । विराटनगर महानगरपालिकाले माछामासु पसलको अनुगमन गरेको छ । मापदण्डविपरीत माछामासु पसल सञ्चालन गरेको व्यापक गुनासो आएपछि महानगरले अनुगमनलाई तीव्रता दिएको हो ।
महानगरको कृषि तथा पशुपक्षी शाखाका संयोजक हिरालाल यादवको नेतृत्वमा महानगरका विभिन्न क्षेत्रमा सञ्चालित माछामासु पसलको अनुगमन गरिएको छ ।
विराटनगर-९ पुरानो गुद्रीमा सञ्चालित अलिहसन मियाँको पसलबाट १५ किलो, सोहराव कुरेसी, न्यू जावेद मासु पसलबाट ५/५ किलो बाख्रीको मासु बरामद गरी नष्ट गरिएको संयोजक यादवले जानकारी दिए ।
त्यस्तै विराटनगर-९ मल्लिक मिट सेन्टर, न्यु गाउँले फ्रेस हाउस, विराटनगर-११ करिया मिट सेन्टर, कञ्चन फ्रेस हाउसलाई मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ ।
उनीहरूको पसलमा सामान्य कमीकमजोरी देखिएकाले अन्तिम पटकका लागि सचेत गराइएको यादवले जानकारी दिए । अनुगमनमा नगर प्रहरीका प्रमुख राजन पौडेलसहित कृषि तथा पशुपक्षी शाखाका कर्मचारी र नगर प्रहरीको सहभागिता रहेको थियो ।

संगालोखबर 













