
झापा । झापाको बिर्तामोड नगरपालिका-७ का प्रदीप खनाल यतिबेला कृषि फार्ममा व्यस्त छन् । एक सातायता फार्ममा फलेको बोडी टिप्न र बजार पुर्याउन उनलाई भ्याइनभ्याइ छ ।
उनको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’बाट दैनिक पाँच सय किलोग्राम बोडीको तरकारी उत्पादन हुन्छ । उत्पादित सबै बोडी बिर्तामोड नगरपालिकाले प्रवर्द्धन गरेको सुपथ मूल्यका तरकारी पसलमा बिक्री हुने गरेको छ ।
भाडामा लिएको ४५ बिगाहा जग्गामध्ये १६ कठ्ठामा खनालले बोडी खेती गरेका छन् । हाल आठ कठ्ठामा फल लाग्न बाँकी नै छ भने आठ कठ्ठामा लहलह फलेको बोडी छ । सात वर्षअघि ठेक्कापट्टाको काम छाडेर एक कठ्ठाबाट तरकारीखेती सुरु गरेका खनालले कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा त्यसको विस्तार गरेका हुन् ।
बोटबाट टिपेको बोडी नगरपालिकाका सातवटा सुपथ मूल्यका पसलमा बिक्रीका लागि लैजाने गरेको उनको भनाइ छ । बोडी हाल प्रतिकेजी ३० देखि सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ । नगरपालिकाले तरकारीमा विषादीको अवशेष जाँच गरेर मात्र पसलमा बिक्रीका लागि अनुमति दिने गरेको छ ।
खनालको कृषि फार्ममा २० बिगाहामा धानखेती छ भने पाँच बिगाहामा विभिन्न प्रकारका तरकारी छन् । जसमध्ये १६ कट्ठामा बोडी, १५ बिगाहामा अम्बक, बयरलगायतका फलफूलखेती र चार बिगाहामा लौका, भिन्डी तथा खुर्सानी लगाएका छन् ।
धान, तरकारी र फलफूलखेतीबाट वार्षिक एक करोड रुपैयाँ मुनाफा हुने गरेको खनालको भनाइ छ । उनको फार्ममा २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने दर्जनौँले मौसमअनुसारको खुद्रा काम पाउने गरेका छन् ।

संगालोखबर 













