सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । हरिराज खेवा स्मृति दिवसमा जग्गादातासहित ९ जनालाई सम्मान गरिएको छ । मंगलबार ९ औं स्मृति दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको हो ।

धनकुटाको छथर जोरपाटी गाउँपालिकामा-६ स्थित निर्माणाधीन स्मृति पार्कलाई जग्गा उपलब्ध गराउने धनबहादुर लिम्बु र खोजबहादुर राईलाई सम्मान गरिएको छ । यसैगरी वडा नम्बर ६ का १०९ वर्षीय ज्येष्ठ नागरिक अन्नपूर्ण गुरुङ र ८९ वर्षीय डम्बरबहादुर थापालाई नगदसहित सम्मान गरिएको हो ।

Advertisement

यस्तै २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने चार जनालाई सम्मान गरिएको प्रतिष्ठानका संरक्षक तथा छथर जोरपाटी गाउँपालिका उपाध्यक्ष गीता गुरुङ खेवाले जानकारी दिइन् ।

सम्मानित हुने विद्यार्थीहरूमा सरस्वती माध्यमिक विद्यालय ताङ्खुवाबाट प्राविधिक धारतर्फ ३.६८ जिपिए ल्याउने सम्राट लिम्बु र ३.४१ जिपिए ल्याउने कृतिका भुजेल छन् । त्यस्तै साधारण धारतर्फ चुलाचुली माविबाट ३.५३ जिपिए ल्याउने सृष्टि लिम्बु र ३.५२ जिपिए ल्याउने अञ्जली गुरुङ छन् ।

कार्यक्रमका प्रमुख अतिथि छथर जोरपाटी गाउँपालिका अध्यक्ष छत्र सुब्बा, प्रतिष्ठानका अध्यक्ष कुसुम कुमारी श्रेष्ठ र प्रतिष्ठानका संरक्षक तथा गाउँपालिका उपाध्यक्ष गीता गुरुङ खेवाले उनीहरूलाई सम्मान गरेका थिए ।

सोही अवसरमा स्मृति पार्क परिसरमा विभिन्न प्रजातिका एक सय बढी बिरुवा रोपिएको थियो । खेवा २०६४ सालमा नेकपा माओवादी केन्द्रको तर्फबाट धनकुटा क्षेत्र नं. २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

माओवादी केन्द्र धनकुटाका अध्यक्ष तथा पूर्व अर्थराज्यमन्त्री समेत रहेका खेवाको २०७३ साल साउन १३ गते धनकुटाको सिधुवामा भएको बस दुर्घटनामा निधन भएको थियो । दुर्घटनामा खेवासँगै १३ जनाको निधन भएको थियो । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!