
विराटनगर । खोटाङमा भतिजले कुटपिट गर्दा काकाको मृत्यु भएको छ । मृत्यु हुनेमा साकेला गाउँपालिका-५ बिर्ताका ६९ वर्षीय राजकुमार राई छन् ।
शनिबार राति ८ बजे घरायसी विवादका क्रममा ३१ वर्षीय भतिजो न्युसन राईले राजकुमारलाई कुटपिट गरेको खुलेको खोटाङ प्रहरीका सूचना अधिकारी सुशान्त मिश्रले संगालोखबरलाई जानकारी दिए ।
कुटपिटको घटनाबारे वडाध्यक्ष जीवन खत्रीले रातिनै इलाका प्रहरी कार्यालय मात्तिमबिर्तामा जानकारी गराएका थिए । कुटपिटबाट गम्भीर भएका राजकुमारलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो ।
उनको उपचारका क्रममा आज बिहान ३ः५० बजे मृत्यु भएको मिश्रले जानकारी दिए । प्रहरीका अनुसार शव अस्पतालमै राखिएको छ । न्युसनलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

संगालोखबर 













