
विराटनगर । झापामा अत्यधिक मदिरा सेवनबाट दुई जनाको मृत्यु भएको छ । बिहीबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका हुन् ।
मृत्यु हुनेमा शिवसतासी नगरपालिका-११ का ६० वर्षीय चन्द्र शिवाकोटी र भारतको सिक्किम घर भएका ६५ वर्षीय डम्बरबहादुर मगर छन् ।
झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार शिवाकोटी कनकाई-४ स्थित सडक किनारमा मृत फेला परेका हुन् ।
शिवाकोटी घरमा रंगरोगन गर्ने मजदुरी गर्दै आएको खुलेको प्रहरीको भनाइ छ । मगर बिर्तामोड नगरपालिका-६ शुभ बिहानी टोलस्थित सुँगुर फार्ममा काम गर्दै आएका थिए ।
मगरको शव खोरको भुइँमा घोप्टो परेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । दुबै जनाको अत्यधिक मदिरा सेवनबाट मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

संगालोखबर 













