
विराटनगर । झापाको हल्दीबारी गाउँपालिका-४ स्थित घरमा लागेको आगो नियन्त्रणमा लिने क्रममा एकै परिवारका चार जना घाइते भएका छन् । आज बिहान रोटी पकाउने क्रममा ६० वर्षीय पुण्यप्रसाद ओलीको घरमा आगलागी भएको हो ।
तीन तले पक्की घरको दोस्रो तालको भान्सा कोठामा बिहान ८ः४० बजेतिर ग्यासबाट आगलागी भएको झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
आगो निभाउने क्रममा पुण्यप्रसाद, उनका छोराहरू ३३ वर्षीय सन्तोष, २० वर्षीय आर्यन र बुहारी ३२ वर्षीया अनिता ओली घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये पुण्यप्रसादको अवस्था मध्यम र अरुको सामान्य रहेको छ ।
भद्रपुरको ओमसाई पाथीभरा अस्पतालमा प्राथमिक उपचार पश्चात घाइतेहरूलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ । आगलागीबाट भान्सा कोठामा आंशिक क्षति भएको छ । आगो करिब बिहान ९ः१५ बजे नियन्त्रणमा आएको थियो ।

संगालोखबर 













