
ओखलढुङ्गा । ओखलढुङ्गाका चार हजार बढी घर मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको अनुमान गरिएको छ । आठ स्थानीय तहका ३५ बस्तीका चार हजार ४७ घर बाढीपहिरोको जोखिममा रहेको अनुमान गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार विपद पूर्वतयारी तथा प्रतिकार्य योजना-२०८१ का अनुसार जिल्लामा तीन हजार नौ सय चार घर पहिरो र एक सय ४३ घर बाढीजन्य विपद्को जोखिममा छन् ।
स्थानीय तहहरूले जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध गराएको विवरण अनुसार १२ हजार तीन सय ८४ मानिस उच्च जोखिममा छन् । सबैभन्दा बढी खिजीदेम्बा गाउँपालिका-३ को एस्टेन, भित्ताखर्क, सतल्पु, गुरिफ, तनुवा, चप्लेटी खोला र चोस्पु गाउँका दुई हजार चार सय २५ घरका छ हजार ७० नागरिक जोखिममा छन् ।
यस्तै मोलुङ गाउँपालिका-८ गौरीगाउँ, पलारु, खिम्ली, ओवाङ्गी, भीरकुना, रागाँदीप, टङ्कु र सेप्लुका पाँच सय २० घरका दुई हजार पाँच सय मानिस पहिरोको जोखिममा छन् । चम्पादेवी गाउँपालिका-८ बिलन्दुका एक सय ६५ घर पनि पहिरोको उच्च जोखिममा रहेका जनाइएको छ ।
मानेभन्ज्याङ गाउँपालिका-६ र ७ मा अवस्थित टोक्सेलको हर्कपुर, माझीगाउँ र जयरामघाट तथा चम्पादेवी गाउँपालिका-१ पलापुको सुनकोशी नदी किनारका एक सय ४३ घर बाढी तथा डुबानको जोखिममा छन् । सुनकोशी, दुधकोशी र लिखु-३ नदीले घेरिएको ओखलढुङ्गा जिल्लामा नदी कटानको समेत समस्या छ ।
जोखिम बढेसँगै प्रशासनले सतर्कता अपनाउन नागरिकलाई आग्रह गर्दै जोखिमयुक्त बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय तहलाई परिपत्र गरेको छ ।

संगालोखबर 













