
धनकुटा । धनकुटामा एक वर्षको अवधिमा विपद्का घटनामा परेर चार जनाको मृत्यु भएको छ । दुई सय ९४ वटा विपद्का घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
गत आर्थिक वर्ष २०८१/०८२ मा बढी, पहिरो, चट्याङ र आगलागीका घटनाबाट एक करोड १२ लाख बढीको भौतिक क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार पहिरोबाट तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । यस्तै ४७ वटा पशुचौपाया मरेका छन् ।
एक सय ९२ वटा घर, २८ वटा गोठ र १० वटा विद्यालयमा भौतिक क्षति भएको छ । प्रहरी कार्यालय र सवारी साधन २/२ वटा र १३ वटा अन्य क्षति भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । बाढी, पहिरोका कारण २० घर विस्थापित भएका छन् ।
यस्तै चट्याङबाट एक जनाको मृत्यु हुँदा दुई जना घाइते भएका छन् । चार वटा पशुचौपाया मरेका छन् भने तीन वटा घर र एउटा गोठमा क्षति भएको छ । चट्याङबाट प्रभावित र विस्थापित घर संख्या १/१ वटा रहेका डीएसपी खनालले जानकारी दिए ।
आगलागीका ५४ वटा घटना हुँदा एक जना घाइते भएका छन् । आगलागीबाट ११ वटा पशुपक्षी मरेका छन् भने १३ घरमा क्षति भएको डीएसपी खनालको भनाइ छ ।
यसैगरी १४ वटा गोठ र २७ वटा वनमा क्षति पुगेको छ । १२ घरपरिवार विस्थापित हुँदा १४ घरपरिवार प्रभावित भएका जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सन्तोष सुवेदी/संगालोखबर 













