
विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले एक बालकको आन्द्राबाट कैँची निकालेको छ । अस्पतालका वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा. अमित भट्टराई नेतृत्वको चिकित्सकहरूको टोलीले ल्याप्रोस्कोपिक प्रविधिको सहायताले सफलतापूर्वक शल्यक्रिया गरेर कैँची निकालेको हो ।
अस्पतालका अनुसार उदयपुरका एक १५ वर्षीय बालकले खेल्ने क्रममा कैँची निलेका थिए । कैँची निलेपछी बालकलाई आफन्तले गम्भीर अवस्थामा नोबेलको आकस्मिक कक्षमा भर्ना गरेका थिए ।
एक्स-रे र सिटी स्क्यानको आधारमा उनको पेटको ठुलो आन्द्राभित्र कैँची अड्किएको पुष्टि भयो । घटना अत्यन्तै जटिल र संवेदनशील रहेपनि नोबेलमा सफल शल्यक्रिया भएको हो ।

उपचारमा संलग्न डाक्टर भट्टराईका अनुसार बालकको आन्द्रामा अड्किएको कैँचीले थप जटिलता ल्याउन सक्थ्यो । तर समयमै ल्याप्रोस्कोपी सर्जरीमार्फत कैँची निकाल्न सफल हुँदा बिरामीको अवस्था स्थिर रहेको उनको भनाइ छ ।
आफन्तका अनुसार ढल्किएर टेलिभिजन हेर्दै गर्दा बालकले हातमा रहेको कैँची मुखमा हालेका थिए । तर अचानक कैँची घाँटीभित्र छिरेको आफन्तको भनाइ छ । सुरुमा बालकलाई नजिकैको अस्पतालमा लगिएको थियो ।
तर त्यहाँ उपचार सम्भव नभएपछि नोबेल ल्याएको र सफल उपचार भएको आफन्तको भनाइ छ । दुई दिनको अस्पताल बसाइ पछि बालकसहित आफन्त घर फर्किएका छन् ।
यसअघि पनि बेल्टको बक्कल, ब्रस निलेको तथा मासु खाँदा हड्डी अड्किएका जस्ता समस्याको सफल उपचार भइसकेको अस्पतालले दाबी गरेको छ । अत्याधुनिक उपकरणसहित दक्ष चिकित्सक हुँदा जटिल र दुर्लभ शल्यक्रिया गर्न सफल भएको अस्पतालको भनाइ छ ।

संगालोखबर 













