सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्बर ४ को लेटरप्याड, छाप र वडाध्यक्षको हस्ताक्षर दुरुपयोग गरी नक्कली सिफारिस पत्र बनाएको पाइएको छ ।

घरबाटो प्रमाणित सिफारिसमा स्थानीय मेघराज खतिवडाले वडाको नक्कली लेटरप्याड, छाप र वडाध्यक्षको हस्ताक्षर दुरुपयोग गरेको आरोप लागेको हो ।

Advertisement

काँग्रेसका स्थानीय नेता समेत रहेका खतिवडाले घरबाटो प्रमाणित गर्न जग्गामा बाटो र घर नभएको उल्लेख गरी नक्कली सिफारिस पत्र बनाएको वडाध्यक्षको आरोप छ । जग्गा पास गर्नका लागि वडाको सिफारिस चाहिन्छ ।

तर वडाले दिएको सिफारिसलाई नक्कली लेटरप्याड, छाप र हस्ताक्षर प्रयोग गरी फरक किसिमको बनाएको छ ।

खतिवडाले आफूले लेटरप्याड, छाप र वडाध्यक्षको हस्ताक्षरको किर्ते गरेर सिफारिस नबनाएको दाबी गरे । ‘मेरा नाममा जग्गा पनि छैन । मेरो नाममा जग्गा भए पो आरोप लगाउन पनि मिल्थ्यो’, उनले भने, ‘अर्काले बाटोमा भेटेको नक्कली कागजको भरमा आरोप लगाउन मिल्छ ?’

वडाबाट ल्याएको सिफारिस आफूसँग रहेको उनको भनाइ छ । तर नक्कली सिफारिस आफूले नबनाएको बताउँदै उनले आफूमाथि झूटो आरोप लागेको बताए । ‘कहाँबाट फर्जी कागज मालपोतले भेट्टायो । वर्जिनल त मसँगै छ’, उनले थपे, ‘मालपोतमा जग्गा पास गर्न पनि मान्छे पुगेको छैन । राजश्व पनि काटेकै छैन । यो मलाई सरासर फसाउन खोजिएको हो ।’

यसको वडाध्यक्षसँग पनि धेरै प्रमाण नभएको उनले जिकिर गरे । ‘मसँग भएको वर्जिनल सिफारिसको चलानी नम्बर त्यसमा कसरी गयो भनेर हामी छलफल गरिरहेका छौं’, उनले थपे, ‘म पनि मालपोत गएको छैन, जग्गा बेच्ने मान्छे पनि मालपोत जानुभएको छैन । बेवारिसे कागज भेट्दैमा मैले बनाएको भन्ने हुन्छ ?’  

वडाले दिएको सिफारिस

वडाध्यक्ष टेकबहादुर तामाङले साविक तेलिया गा.वि.स.वडा नम्बर १ स्थित शम्भुराम प्रजाप्रतिको नाममा रहेको कित्ता नम्बर १० को १७ रोपनी ३ आना र कित्ता नम्बर ४ को ३१ रोपनी ७ आना २ पैसा क्षेत्रफल रहेको जग्गा धनकुटाको बिहिबारे हटीया-कर्मीटार-बञ्चरे-लामिछाने-तेलिया-तेह्रथुम शुक्रबारे पक्की सडक भएको र कच्ची घर भएको साथै सडकको सेटब्याक बाहेक ६ मिटर चौडा कायम रहेको भनी प्रमाणित गरिदिएका थिए ।

वडा कार्यालयमा श्रेस्ता दर्ता कायम रहेको जग्गाको घरबाटो विवरण अनुसार गत असार २४ गते आफूले प्रमाणित गरी सिफारिस दिएको वडाध्यक्ष तामाङले जानकारी दिए । तर खतिवडाले सोही मितिमा वडाको लेटर प्याड, छाप र आफ्नो हस्ताक्षर प्रयोग गरेर नक्कली सिफारिस बनाएको उनको भनाइ छ ।

मेघराज खतिवडाले बनाएको किर्ते सिफारिस

‘असार ३१ गते मंगलबार मालपोत कार्यालय धनकुटाबाट फोन आएपछि थाहा भयो’, वडाध्यक्ष तामाङले भने, ‘उनले गलत तरिकाले वडाको लेटर प्याड, छाप र मेरो हस्ताक्षर प्रयोग गरेर सिफारिस बनाएछन् ।’

सरकारी कार्यालयको लेटरप्याड, छाप र आफ्नो हस्ताक्षर किर्ते गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रक्रिया अनुरूप अघि बढ्ने वडाध्यक्ष तामाङको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!