
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बेलडाँगीमा विसाल रङ्गशाला बनाउने घोषणा गरेका छन् । आज दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
यसैगरी प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणबारे झुट र घटिया प्रचार गरिएको गुनासो गरेका छन् । स्पेन भ्रमणमा सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्त्वले अरु कुरा नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरेको उल्लेख गरे । उनले यस्ता कुराहरूको जवाफ दिन आवश्यक नभएको टिप्पणी पनि गरे ।
प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणको लहर ल्याउने क्रममा यो सडक पनि रहेको जनाउँदै मेची महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेको उल्लेख गरे ।
उनले हरेक क्षेत्रमा सुधार ल्याउने योजनाबमोजिम स्वयंसेवी भावनाका साथ महत्त्वपूर्ण विषयमा निःशुल्क अनलाइन कक्षा सञ्चालन गरेपछि यस वर्ष एसईईको नतिजामा १३ प्रतिशतले सुधार आएको बताए ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो । ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमुना आयोजना मानिन्छ ।

संगालोखबर 













