सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-६ लेगुवामा अवस्थित नागेश्वर दुग्धनाथ महादेव मन्दिर ओझेलमा परेको छ । धार्मिक आस्था तथा नेपालको इतिहाससँग जोडिएको उक्त मन्दिर प्रचार-प्रसार र संरक्षणको अभावमा ओझेलमा परेको हो । 

पूर्वका पिण्डेश्वर, बराहक्षेत्र लगायतका समकालीन मन्दिर चर्चामा रहेपनि यो मन्दिरमा भने चहल-पहल पनि कम हुँदै गएको छ । स्थानीयका अनुसार २०५० सालसम्म यो मन्दिरमा भक्तजनहरूको बाक्लो चहल-पहल हुनेगरेको थियो । 

Advertisement

त्यसयता भने बसाइसराइ लगायतका कारणले चहल-पहल कम हुँदै गएको छ । शिवरात्रि, बालाचतुर्दशी, तीज, बैशाखे र मंसिरे पूर्णिमा लगायतमा पनि अहिले मन्दिर सुनसान हुन थालेको नागेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष दुर्गा पुरीले बताए ।

केहि बर्षयता नियमित पूजाआजा समेत हुन छाडेको यो मन्दिरमा अहिले भने नियमित पूजाआजाको व्यवस्था गर्न स्थानीय लागि परेका छन् ।    

इतिहासविद् गोपाल भण्डारीका अनुसार पूर्व एकीकरणको जिम्मा पाएका जंगबहादुर राणाका जिजुबाजे काजी राम कृष्ण कुँवर र धन सिंह खड्काले तत्कालीन श्री ५ को आदेशमा नेपाल उपत्यका र विजयपुर क्षेत्रबाट सिपालु कालिगढ झिकाइ बि.स.१८३१ देखि १८४१ को बीचमा यो मन्दिर निर्माण भएको हो । 

कलात्मक प्यागोडा शैलीमा निर्माण गरिएको यो मन्दिरमा सोही समयका गुणस्तरयुक्त इँटा र विभिन्न प्रकारका कलाको प्रयोग गरिएको छ । 

मन्दिर निर्माणताका दुई मिटर अग्लो सुनको गजुर तथा गीर्वाणयुद्ध विक्रम शाहले राखेको एघार धार्नीको घण्टासहित बहुमूल्य सामान हराइसकेका छन् । जानकारहरूका अनुसार २० वर्षको उमेर हुँदा जंगबहादुरले केही समय भूमिगत जीवन यही मन्दिरमा बिताएका थिए । 

पछि जंगबहादुर प्रधानमन्त्री भएपछि लेगुवा आएर थप पूर्वाधार निर्माण गरेको इतिहासविद् भण्डारीको भनाइ छ । अहिले जीर्ण अवस्थामा पुगेको यो मन्दिरको केहि बर्षअघि पुरातत्व विभाग र महालक्ष्मी नगरपालिकाको समन्वयमा मर्मत भएको थियो ।   

पछिल्लो समय मन्दिरको थप संरचना निर्माणसँगै संरक्षणमा पालिका र वडा लागिपरेको वडाध्यक्ष शिवराज विश्वकर्माले बताए । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!