
विराटनगर । झापामा सामूहिक आक्रमणमा परेकी एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-४ भाङवारीकी २२ वर्षीया गंगा राई छन् । उनी हाल अर्जुनधारा-८ शनिश्चरे क्याम्पस नजिक डेरा बस्दै आएकी थिइन् ।
घटना मंगलबार रातिको हो । भोजपुरको रामप्रसाद राई गाउँपालिका-६ वैकुण्ठे घर भइ हाल अर्जुनधारा-७ मा बस्ने सुस्मिता भुसालले आफ्नो पति रमेश भुसाल गंगाको कोठामा गएको भन्दै टोलका महिलाहरूलाई बोलाएकी थिइन् ।
राति ११ः३० बजे पति गंगाको कोठामा गएको थाहा पाएपछि महिलाहरू बोलाएर सामूहिक आक्रमण गरेको हुनसक्ने प्रहरीले जनाएको छ । सामूहिक आक्रमणमा परेर घाइते भएकी गंगाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा राति १ः२० बजे मृत्यु भएको प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार केही महिलाहरूलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ । ‘सामूहिक आक्रमण भनिएपनि अहिले अनुसन्धानकै क्रममा छौं’, अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘केही मान्छेहरू हाम्रो नियन्त्रणमा छन् । पोष्टमार्टम रिपोर्ट पछि मात्रै मृत्युको कारण खुल्छ ।’
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले अहिले अनुसन्धान भइरहेको जानकारी दिए ।

संगालोखबर 













