सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-१ घुमाउने र चित्रेका किसानले व्यवसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । मौसमी तथा बेमौसमी तरकारी खेतीबाट यहाँका किसानले वार्षिक २० लाखसम्म आम्दानी गर्न थालेका हुन्।

यहाँका धेरैजसो कृषक पछिल्लो समय व्यवसायिक तरकारी खेतीतर्फ जुटेका छन् । उनीहरूले तरकारी खेतीबाट नै घरखर्च चलाउने गरेका छन् भने बचेको पैसा बचत गर्दै आएका छन् ।

Advertisement

चित्रे र घुमाउने लगायतका क्षेत्रमा करिब साढे ३ सय घरधुरीको बसोबास रहेको छ । प्रायः सबै घरधुरीले व्यवसायिक तरकारी खेती गर्दै आएका महालक्ष्मी नगरपालिका-१ का वडाध्यक्ष टेकबहादुर गुरुङले बताए ।

कृषकहरूले मुला, गाँजर, बन्दाकोपी, काउली, आलु, मटर लगायतका तरकारीको व्यवसायिक खेती गरिरहेको उनको भनाइ छ । यहाँ उत्पादित तरकारी बाहिरी जिल्लामा निर्यात हुने गरेको उनको भनाइ छ ।

वडाध्यक्ष गुरुङका अनुसार तरकारी खेतीबाट प्रत्येक घरले वार्षिक न्यूनतम ५ देखी अधिकतम २० लाखसम्म आम्दानी गर्दै आएका छन् ।

घुमाउनेकी बेनुका गुरुङले करिब ९ रोपनी क्षेत्रफलमा व्यवसायिक तरकारी खेती गर्दै आएकी छन् । उनले तरकारी खेतीबाट वार्षिक ५ लाखभन्दा बढी आम्दानी गर्दै आएको बताइन् ।

‘हाम्रो पुर्ख्यौली पेसा कृषि नै हो । तर पहिलाको तुलनामा अहिले खेती गर्ने तरिका फेरिएको छ’, उनले भनिन्, ‘पहिला आफ्नो लागि मात्रै खेती गरिन्थ्यो भने अहिले व्यवसायिक खेती गरेर आयआर्जनको श्रोत बनेको छ ।’

कृषकहरूले व्यवसायीक तरकारी खेतीसँगै पशुपालन पनि गर्दै आएका छन् । जसबाट बिक्री नहुने र फालिने तरकारीको सदुपयोग भइरहेको छ भने आम्दानीको श्रोत पनि थपिएको छ । यहाँका कृषकले दुग्धजन्य पदार्थको उत्पादनमा पनि जोड दिइरहेका छन् ।

सडक सञ्जालको विस्तारसँगै कृषकहरूले उत्पादन गरेको तरकारी र दुग्धजन्य पदार्थ घर-घरबाटै बिक्री हुने गरेको छ । व्यापारीहरू गाडी लिएर घर-घरमै पुग्ने भएकाले बजारीकरणमा समस्या नभएको कृषकहरू बताउँछन् । व्यवसायिक तरकारी खेती विस्तार भएसँगै बसाइँसराइमा पनि कमी आएको स्थानीय बताउँछन् ।

यहाँबाट वार्षिक करिब २२ करोड बढीको तरकारी निर्यात हुने अनुमान गरिएको छ । वर्षेनी तरकारी उत्पादन बढिरहेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । यहाँको उत्पादन मध्ये ९० प्रतिशत जिल्ला बाहिर निर्यात हुने गरेको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार धरान, इटहरी, विराटनगर, दमक, बिर्तामोड तथा भारत, बङ्गलादेश र भुटानसम्म यहाँ उत्पादन भएको तरकारी निर्यात हुने गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!