
विराटनगर । झापामा फरक-फरक स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शनिबार झापाको मेचीनगर नगरपालिका-१० स्थित भित्री सडक खण्डमा प्र १-०१-००२ ह ७१०५ नम्बरको सिटी सफारी अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सफारी चालक मेचिनगर-११ का ३२ वर्षीय राज कररियाको उपचारका क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको हो ।
यस्तै मेचिनगर-१२ स्थित मेचि हाइवेमा प्र १-०१-००२ ह ५५७१ नम्बरको अटो र मे ८ प ८०३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक अर्जुनधारा-११ का ३४ वर्षीय भीमबहादुर सार्कीको बीएण्डसी अस्पतालमै उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अटो चालक बुद्वशान्ति-१ का ४० वर्षीय युवराज घिमिरेलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।