धनकुटा । पछिल्लो समय देशभरीकै शैक्षिक गुणस्तर खस्किँदो अवस्थामा रहेको एक प्रतिवेदनले देखाएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरले शिक्षा विकास निर्देशनालय धनकुटामा आज आयोजित कार्यक्रममा सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदनले यस्तो देखाएको हो ।
कार्यक्रममा सन् २०२३ मा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कक्षा १० का विद्यार्थीहरूको सिकाइ उपलब्धि बारे गरेको राष्ट्रिय परीक्षणको नतिजा प्रस्तुत गरिएको थियो ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कक्षा १० को नेपाली, गणित, अङ्ग्रेजी र विज्ञान गरी चार वटा विषयको सिकाइ उपलब्धि पनि प्रस्तुत गरेको थियो । विद्यार्थीको सिकाइ उपलब्धि बारे परीक्षण गरेर प्रतिवेदन तयार पारिएको शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानो ठिमी भक्तपुरका निर्देशक प्रमिला बखतीले बताइन् ।
प्रस्तुत प्रतिवेदनले विद्यार्थीहरूको सिकाइ उपलब्धि सन्तोषजनक नरहेको देखाएको छ । प्रतिवेदनले यी चार विषयमा मात्रै नभइ विद्यार्थीहरूको सिकाइ उपलब्धि सम्पूर्ण विषयमा एकदमै कमजोर देखाएको छ ।
छात्राको तुलनामा छात्र कमजोर, सहरीभन्दा ग्रामीण भेगका विद्यार्थीहरू कमजोर, नेपाली भाषा भएका भन्दा अन्य मात्रृभाषा भएका विद्यार्थीहरूको सिकाइ गुणस्तर कमजोर पाइएको छ ।
आमा-बुबाको आर्थिक र शैक्षिक स्तर बढी भएका विद्यार्थीहरूको भन्दा आर्थिक र शैक्षिक अवस्था कमजोर भएका विद्यार्थीहरूको सिकाइ प्रभावकारी पाइएको छ । प्रतिवेदन अनुसार समयमा गृहकार्य गर्ने, कक्षामा पनि खाली समयमा कक्षा कार्य गर्ने विद्यार्थीहरूको सिकाइ उपलब्धि राम्रो देखिएको छ ।
विद्यार्थीहरूमा उनीहरूको तहअनुसार हुनुपर्ने ज्ञान सीप समेत नभएको पाइएकाले सिकाइ उपलब्धि बढाउन तीनै तहको सरकारले सम्बन्धित विषय शिक्षकलाई समेत ऊर्जा मिल्ने गरी कुनै निश्चित कार्यक्रम बनाएर शैक्षिक गुणस्तर बढाउन आवश्यक रहेको शिक्षा विकास निर्देशनालयका निर्देशक कृष्णप्रसाद पोख्रेलले बताए ।