
धनकुटा । आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस, धनकुटामा पनि सामूहिक रोपाइँसँगै दही चिउरा खाएर हर्षोल्लासका साथ मनाइएको छ ।
कृषि पर्यटन प्रर्वद्धनमा महिला अभियान धनकुटा र धनकुटा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा २२ औं राष्ट्रिय धान दिवस मनाइएको हो ।
धनकुटा नगरपालिका-६ स्थित पात्लेखोलामा शुभकामना आदान-प्रदान गरिएको थियो । यस्तै निशान जागरुक महिला नौमती बाजा सांस्कृतिक समूहले बेठी लगाएर धान दिवस मनाएको छ ।

धनकुटामा रहेको निजामती आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान सिकाउन रोपाइँमा सहभागि गराइएको थियो । २०६१ मंसिर २० गतेको मन्त्रीस्तरीय निर्णय अनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

नेपालको धेरै जनसङ्ख्या कृषि पेशामा नै निर्भर छ । असार महिनालाई मानो रोपेर मुरी उब्जाउने महिनाका रूपमा समेत लिने गरिन्छ ।
कार्यक्रममा धनकुटाका प्रदेश सांसद इन्द्रमणि पराजुली, जिल्ला समन्वय समिति प्रमुख निरन तामाङ, उपप्रमुख सावित्रा राई, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्री, सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेड क्वाटर छिन्ताङ धनकुटाका डीएसपी मदन नाथ लगायतको उपस्थिति थियो ।





तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

सन्तोष सुवेदी/संगालोखबर 













