विराटनगर । विराटनगर महानगरपालिका कार्यपालिका सदस्य सञ्जीवकुमार साहको स्मृतिमा महानगरले श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।
मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलसहितको उपस्थितिमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।
मेयर कोइरालाले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै महानगरका लागि साहको अभाव सधैं रहिरहने उल्लेख गरे । उनले कार्यपालिका सदस्य साह अत्यत्यै सरल र जनताको कामप्रति सधैं सक्रिय रहने गरेको भन्दै स्मरण गरे ।
कोइरालाले परिवारमा पर्न गएको चोटप्रति समवेदना व्यक्त गर्दै छोराको पठनपाठनमा महानगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । वडा नम्बर १३ का अध्यक्ष सूर्यलाल यादवले पनि साहको विषयमा चर्चा गरे ।
कार्यपालिका सदस्य साहको असार १३ गते शुक्रबार हृदयघातका कारण निधन भएको थियो । साह राप्रपाका तर्फबाट २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर वडा नम्बर १३ को सदस्यमा निर्वाचित भएका थिए ।