सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको पाख्रीबास बजारबाट फलाटे जोड्ने सडकको स्तरोन्नतिले तिव्रता पाएको छ । बजेट अभावका कारण तोकिएको समयमा सम्पन्न नभएको सडकको कामले पछिल्लो समय गति लिएको हो ।

साढे ६ किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने जिम्मा वर्ल्डवाइड कन्सल्टेन्सी प्रालि काठमाडौंले पाएको छ । सङ्घीय सरकारको १९ करोड रुपैयाँ लागतमा सडक स्तरोन्नतिको काम अघि बढेको हो ।

Advertisement

२०७९ माघमा ठेक्का लागेको सडक निर्माणको काम तीन वर्षभित्रमा सक्नुपर्ने सम्झौता थियो । तर बजेट अभावका कारण काम रोकिएको र पुनः सुचारु भएको सडक डिभिजन कार्यालय धनकुटाका इन्जिनियर रमेश कुमार गोइतले बताए ।

‘२०८२ बैशाखमा काम सम्पन्न हुनुपर्ने थियो’, गोइतले भने, ‘बजेट अभाव हुँदा करिब एक वर्ष काम रोकियो । तर अहिले बजेट आएपछि ४० प्रतिशत काम सकिएको छ ।’

सडक डिभिजन कार्यालयका अनुसार अहिले विभिन्न संरचना निर्माण लगायतका काम भइरहेका छन् । आगामी चैत, बैशाखसम्ममा सडक कालोपत्रेको काम सक्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।

कच्चि सडकका कारण विशेषगरी बर्खायाममा समस्या भोग्दै आएका स्थानीय सडक निर्माणले गति लिएसँगै खुसी भएका छन् । उक्त सडकखण्डबाट पाख्रीबास बजार हुँदै राम्चेडाँडा, निन्दोभाने र वडा नम्बर–६ स्थित डाँडाखर्क हुँदै फलाटे बजार पुगिन्छ । यस्तै छिमेकी जिल्ला भोजपुर पनि फलाटे-अधेरीघाट सडक हुदैँ पुग्न सकिन्छ ।

सडक निर्माण सम्पन्न भएसँगै पाख्रीबास नगरापालिका-४, ६, ७ र ८ नम्बर वडाका स्थानीयसँगै अन्य आगन्तुकहरू पनि लाभान्वित हुनेछन् । जसबाट स्थानीय उत्पादन ओसार-पसारसँगै आवत-जावतमा पनि सहज हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!