विराटनगर । पाँचथरको हेवा खोलामा पानीको सतह घटेपछि यातायात सुचारु भएको छ । सोमबार साँझदेखि परेको पानीले हेवा खोलाको डाइभर्सन पार गरेपछि अवरुद्ध भएको मेची राजमार्ग पानीको सतह घटेसँगै सुचारु भएको हो ।
प्रहरीका अनुसार हेवा खोला भएर इलाम र पाँचथरबाट ताप्लेजुङ तथा ताप्लेजुङदेखि पाँचथर हुँदै इलाम र झापातर्फ जाँदै गरेका सवारी साधन बाटोमा नै रोकिएका थिए ।
अहिले रोकिएका सवारी साधन गन्तव्यतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता इन्स्पेक्टर रूपेश तामाङले संगालोखबरलाई जानकारी दिए । यस्तै मावा खोलामा पनि सडक अवरुद्ध हुने जोखिम रहेको उनले बताए ।
वर्षाका कारण पाँचथरका केही भित्री सडकखण्ड पनि अवरुद्ध भएका र खुलाउने प्रयास भइरहेको इन्स्पेक्टर तामाङले जानकारी दिए ।