धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–५, डिकुरेमा चार वटा गाडी ठोक्किएर सडक ढाक्दा मध्य पहाडी लोकमार्गको पाख्रीवास-लेगुवा सडक खण्ड अवरुद्ध भएको छ । एकै ठाउँमा ट्रक, दुई वटा टिपर र इभी गाडी ठोक्किँदा बिहान करिब ११ बजेदेखि अवरुद्ध भएको सडक अझै खुलेको छैन ।
भोजपुरबाट काठको लकडी बोकेर इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ६६१ नम्बरको ट्रक ‘एक्सल’ भाँचिएर पछि सरेपछि पछाडि रहेका तीन वटा गाडी पनि ठोक्किएका हुन् । ट्रक पछि सर्दा प्रदेश १-०२-००१ ख ४८९१ नम्बरको टिपरसँग ठोक्कियो । त्यो टिपर पनि पछाडि सरेर प्रदेश १-०२-००१ ज ४६७८ नम्बरको इभी गाडीलाई ठक्कर दियो ।
इभीले पनि पछाडि रहेको प्रदेश १-०२-००१ ख ४८९२ नम्बरको अर्को टिपरलाई ठक्कर दिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
ठक्करबाट चार वटै गाडीमा क्षति पुगेको छ । मानवीय क्षति भने भएको छैन । दुर्घटनाग्रस्त गाडीले सडक ढाकेका छन् । सोही कारण अन्य सवारी साधन आवतजावत हुन सकेका छैनन् । गाडी पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ ।