धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाका युवा नगरभित्र रहेका पर्यटकीय स्थलको संरक्षण र प्रर्वद्धनमा जुटेका छन् । उनीहरू ओझेलमा परेका पर्यटकीय गन्तव्यको संरक्षण र प्रर्वद्धनसँगै प्रचार-प्रसारमा जुटेका हुन् ।
महालक्ष्मी-६ स्थित मुगाली गाउँमा पिपल डाँडा चौतारो छ । जहाँ बस्नका लागि फलैँचा बनाइएको छ भने वरिपरि रेलिङ, गमाल राखिएको छ ।
जसमा युवाहरूको सक्रियतामा पालिकाभित्रका पर्यटकीय स्थलहरूको सूचीसहितको होर्डिङ बोर्ड राखिएको छ । राष्ट्रिय झन्डाले त्यहाँको माहोल थप मनोरम देखिएको छ । स्थानीय अगुवा सुरेश कार्कीका अनुसार नगरभित्रका पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि यो अभियान सुरु गरिएको हो ।
नगरभित्रका पर्यटकीय गन्तव्य केका लागि प्रसिद्ध छन् भन्ने लगायतका जानकारीसहित होर्डिङ बोर्ड लगाइएको उनले बताए । यसले नगरमा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनको विश्वास छ ।
नगरभित्रका वडा केका लागि प्रसिद्ध छन् भन्ने पनि त्यसमा समावेश गरिएको छ । महालक्ष्मी-१ स्थित घुमाउने बन्दाकोपीका लागि प्रसिद्ध छ । यस्तै वडा नम्बर २ लेगुवा झरना, ३ मा थाम डाँडाको पुरानो शिवालय मन्दिर र ४ स्थित अरुण उपत्यकामा पर्ने खेतियोग्य जमिन प्रसिद्ध छन् ।
यस्तै वडा नम्बर-५ भोजपुर, संखुवासभा र धनकुटाको संगम स्थल, ६ नेपालकै सबैभन्दा दोस्रो ठूलो शिवालय मन्दिर, ७ जितपुर बजारमा निर्माण गरिएको रुद्राक्षको स्तम्भ, ८ निगालेमा अवस्थित दुग्ध उत्पादन पकेट क्षेत्रमा रहेको दूध दुहुँदै गरेको गाईको स्तम्भ र ९ ढुंगाको बगैँचाले परिचित छन् ।
‘नगरपालिका र वडाले पर्यटकीय स्थल तथा आ-आफ्ना ठाउँहरूको विशेषता चिनाउन कुनै पनि कार्यक्रम नगरेकाले हामी आफैँ लागेको हौं’, अभियन्ता कार्कीले भने, ‘हामीले सबैबाट सहयोगको अपेक्षा पनि गरेका छौँ । जसरी सक्नुहुन्छ, त्यसरी अभियानमा जोडिनुहुन्छ भन्ने विश्वास गरेका छौं ।’
यो अभियानमा स्थानीय सरोकारवालाहरू पनि जोडिन थालेका उनले जानकारी दिए । महालक्ष्मीका पूर्व मेयर पर्शुराम नेपाल पनि अभियानमा जोडिएका छन् । यो अभियानलाई सफल बनाउन सबै एकजुट हुनुपर्ने उनको भनाइ छ ।
यसका लागि नगरपालिका र सम्बन्धित वडाहरू पनि सक्रिय हुन आवश्यक रहेको उनको भनाइ छ । युवाहरूको सक्रियतामा आर्थिक संकलन गरेर अभियानलाई अगाडि बढाइएको उनीहरू बताउँछन् । उनीहरूका अनुसार ३५ हजार बढी आर्थिक संकलन भइसकेको छ ।