धनकुटा । पर्यटन क्षेत्र आर्थिकोपार्जनका श्रोत मध्येको एक हो । यसलाई प्राथमिकताका साथ अगाडि बढाउने हो भने कुनै पनि क्षेत्रले छोटो समयमा नै फड्को मार्न सक्छ ।
यही कुरालाई मध्यनजर गर्दै कोशी प्रदेश सरकारले धार्मिक तथा पर्यटकीय स्थलहरूको विकास र प्रर्वद्धनका लागि लगानी बढाउँदा पर्यटन व्यवसाय फस्टाउन थालेको छ । प्रदेशका प्रमुख पर्यटन गन्तव्यहरूलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । जसले पर्यटन आवागमनलाई थप सहज बनाएको छ ।
प्रदेश सरकार गठनसँगै प्रदेशका धार्मिक र पर्यटकीय क्षेत्रमा आवश्यक भौतिक पूर्वाधार र सडक सञ्जालको विस्तारले गति लिएको थियो । कोशी प्रदेशका पर्यटकीय क्षेत्रलाई थप प्रचार तथा प्रवर्द्धनका लागि ‘कोशी पर्यटन वर्ष २०८२’ को सुरुवात भएको छ । यसले कोशी प्रदेशमा पर्यटकको संख्या बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखिएको छ ।
कोशी प्रदेशका विभिन्न पर्यटक गन्तव्य मध्ये पूर्वीपहाडी जिल्ला धनकुटा पनि मुख्य गन्तव्य हो । यहाँको फरक-फरक हावापानी र रहनसहनले पर्यटकलाई आकर्षित गर्दछ । प्रमुख धार्मिक एवम् प्राकृतिक पर्यटकीय जिल्ला धनकुटाका विभिन्न स्थानहरूको प्रवर्द्धनका लागि प्रदेश सरकारले पूर्वाधार निर्माणमा लगानी बढाउँदै गएको छ ।
धनकुटाको पाख्रीबास नगरपालिका-७ स्थित मुगामा रहेको पर्यटकीय जलदेवी सिमसार पार्क निर्माणको काम सम्पन्न भएको छ । उक्त पार्क संरक्षण तथा निर्माणका लागि प्रदेश सरकारले ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसका लागि आर्थिक वर्ष २०७७/७८ मा दिवा शंखर त्रिशक्ति जेभिले निर्माणको जिम्मा पाएको थियो । उक्त कम्पनीले ३ करोड ४४ लाख ३२ हजारमा पार्क निर्माण सम्पन्न गरेको हो ।
करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा आधुनिक संरचना निर्माण गरिएका छन् । पार्क संरक्षणका साथै मन्दिर, पोखरी निर्माण, पोखरी वरिपरि रेलिङ, तारबेरा, सिँढी, फलामे पुल र वाल लगाइएको छ ।
पाख्रीबास नगरपालिका-७ का वडाध्यक्ष देवेन्द्र तामाङका अनुसार सिमसार क्षेत्र आकर्षण र मनमोहक देखिएसँगै पर्यटकहरू बढ्न थालेका छन् । सडकको पहुँचमा रहेको यस पर्यटकीय क्षेत्र पर्यटकको मुख्य गन्तव्य बन्नेमा उनी विश्वस्त छन् ।
तालसँगै जलदेवी मन्दिर छ । उक्त क्षेत्रमा पर्यटकहरू बढ्न थालेसँगै होटल व्यवसाय संचालन हुन थालेका छन् । जलदेवी सिमसार ताल पाख्रीबास-सुनवालुवा सडकले छोएको छ । जसले पर्यटक आवागमनलाई सहज बनाएको छ । पर्यटकको संख्या बढेसँगै स्थानीय उत्पादनको खपत बढेको स्थानीय करवीर राईले बताए ।
‘गाउँमा रहेका पर्यटकीय स्थलको प्रवर्द्धनले आर्थीकोपार्जनमा टेवा पुर्याउँछ’, उनले भने, ‘होटल व्यवसाय पनि बढेका छन् । स्थानीय उत्पादनको खपत पनि बढेको छ ।’
बन्दै छ जनजाति पार्क
साँगुरीगढी गाउँपालिकामा रहेको नाम्जे थुम्कीमा जनजाति पार्क निर्माणले तिव्रता पाएको छ । गाउँपालिकाकै ठूलो पार्कको रूपमा विकास गर्ने उद्देश्यले निर्माण थालिएको हो । थुम्की स्थित नाम्जेमा आदिवासी जनजातिहरूको संस्कार संस्कृतिको जगेर्ना गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा एक करोड ३५ लाखको लागतमा जनजाति पार्क निर्माण सुरु गरेको थियो ।
हालसम्म एक करोड ४४ लाख रुपैयाँ पार्क निर्माणमा खर्च भइसकेको छ भने हाल निर्माणको कामले तिव्रता पाएको छ । पार्कमा सभाहलसहित विभिन्न जातिको पहिचान झल्कने स्तम्भहरू निर्माण भइरहेको छ । गाउँपालिकाको बजेटले पार्क निर्माण गर्न सम्भव नभएपछि प्रदेश सरकारले काम अघि बढाएको गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले बताए ।
प्रदेश सरकारले नाम्जेमा पार्क निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ मा ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यस्तै आर्थिक वर्ष २०७९/८० मा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त स्थानमा पार्कसहित बौद्ध गुम्बा, अतिथि गृह र शौचालय निर्माणका लागि डिपीआर तयार भइसकेको छ ।
नाम्जे गाउँ मगर संस्कृति र होमस्टेले परिचित छ । साँगुरीगढी–६ स्थित नाम्जे प्राकृतिक रूपमा निक्कै आकर्षक र मनमोहक रहेको छ । नाम्जेलाई अमेरिकाको सञ्चार माध्यम सीएनएनले सन् २०१२ मा विश्वको १२ अनौठा गन्तव्य स्थल मध्ये आठौँ नम्बरमा राखेको थियो ।
नाम्जेमा रहेको होमस्टे भेडेटारबाट करिब ४ किलोमिटर र समुद्री सतहबाट करिब १५ सय ८५ मिटरको उचाइमा पर्दछ । यस क्षेत्रबाट सूर्योदय र तराईका अधिकांश जिल्लाहरूको मनमोहक दृश्य देख्न पाइन्छ । सडकमार्ग हुँदै सजिलै यहाँसम्म आईपुग्न सक्ने भएकाले पनि यो क्षेत्र पर्यटकको मुख्य आकर्षकको केन्द्र बन्न थालेको हो ।
मगर जातिको सामुदायिक होमस्टे भेडेटार-रबि-राँके सडक खण्डमा पर्दछ । मगर जातिको एकल बसोबास रहेकोे यस क्षेत्रमा पाइने मौसमअनुसारका विभिन्न परिकार र स्थानीय मौलिक हुर्रा नाचले पर्यटकलाई मोहित तुल्याउँछ । गर्मीको समयमा त पर्यटकको संख्या अन्य समयको तुलनामा धेरै हुने गरेको छ ।
होमस्टेबाट मासिक एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको नाम्जे थुम्की सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष अनिलकुमार रानाले बताए । यस होमस्टेलाई नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा उत्कृष्ट सामुदायिक होमस्टे घोषणा गरेको थियो ।
नाम्जे होमस्टेमा आउने पर्यटकहरूले आत्मा बस्ने घर, सूर्योदय बौद्धविहार, जनजाति पार्क, नाम्जे थुम्की डाँडा वरिपरि रहेका टावर र नाम्जे डाँडाबाट तराईका समथर भू-भागहरूको अवलोकन गर्न लालायित हुन्छन् ।
पर्यटक तान्दै चौविसेको रानीताल
धनकुटाको चौबिसे गाउँपालिका–६ राजारानी बजार ‘रानीताल’ कै नामबाट रहन गएको हो । रानीताल नव आगन्तुकका लागि उपयुक्त पर्यटकीय स्थलका रूपमा परिचित छ । यो तालको संरक्षण र प्रचारप्रसार भएसँगै पर्यटकहरूको भीडभाड बढ्न थालेको छ ।
कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ का लागि १० करोड वजेट बिनियोजन गरेको थियो । प्रदेश सरकारले नीतिगत र व्यवस्थापकीय कार्य गरी अगाडि बढ्दै जाने जनाएको छ । प्रदेश सरकारले धार्मिक तथा प्राकृतिक सम्पदालाई पर्यटनको हब बनाउन सकिने बताएको छ ।
धनकुटमा रहेको नाम्चे, पातले, नमस्ते झरना र हिलेजस्ता पर्यटकीय क्षेत्रको आवश्यक विकास र प्रवद्र्धनमा प्रदेश सरकार जुटेको छ । यस्तै प्याराग्लाइडिङ, तमोर तथा कोशी र्याफ्टिङ जस्ता साहसिक खेल समेत छन् । जसले पर्यटकीय अधारलाई थप बलियो बनाउनेमा दुईमत छैन ।
धार्मिक तथा पर्यटकीय स्थल मधुगंगाधाम
धनकुटा नगरपालिका-२ भीरगाउँमा रहेको मधुगंगा महादेव धामलाई धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकासका लागि पूर्वाधार निर्माण सुरु गरिएको छ । संघीय सरकारको तीन करोड ७० लाख रुपैयाँ लागतमा मधुगंगा मन्दिरमा पूर्वाधार निर्माणको काम सुरु गरिएको हो ।
धनकुटा नगरपालिकाले मधुगंगा धामको विकासका लागि यसअघि नै १५ लाख रुपैयाँ खर्च गरेर डीपिआर तयार पारेको थियो । पूर्वाधार निर्माणका लागि ७ करोड रुपैयाँ बजेट विनियोजन भए पनि थेगिमसिंह जेभिले तीन करोड ७० लाख रुपैयाँमा ठेक्का पाएको थियो ।
धाममा साना-ठूला गरी ८७ वटा संरचना निर्माण गरिने धनकुटा नगरपालिका-२ का वडा अध्यक्ष चन्द्रलाल तामाङले बताए । उनका अनुसार धाममा प्राकृतिक सिँढी, पूजा तथा होम गर्ने ठाउँ, पोखरी, शिव मन्दिर, नौ वटा ढुंगेधारा, व्यापारिक भवन, सडक, शौचालय र पुजारी घर निर्माण गरिएको छ । धार्मिक तथा पर्यटकीय स्थल मधुगंगा धाममा धान्य पूर्णिमा तथा उधौली पर्वको अवसरमा मेला लाग्ने गरेको छ ।
यस धाममा मेला भर्न, भाकल छिन्न तथा दर्शन गर्नका लागि कोशी प्रदेशसहित विभिन्न ठाउँबाट भक्तजनहरू आउने गरेका छन् । मधुगंगा धाममा रहेको ६० फिट अग्लो झराना र गुफले थप मोहित तुल्याउँछ । पूर्वाधार निर्माणसँगै धार्मिक पर्यटहरूको आवगमनमा सहज भएको स्थानीय राजु घिमिरेले बताए । उनले सडक सुविधा थपिएसँगै पर्यटकलाई सहज भएको तथा स्थानीय स्तरमा होटलहरू थपिन थालेका बताए । आगामी दिनमा थप पर्यटकको संख्या बढ्नेमा उनी विश्वस्त छन् ।
झाँर्की पार्कको प्रवर्द्धनमा जोड
धनकुटाको महालक्ष्मी नगरपालिका-६ र ७ को संगमस्थलमा रहेको धार्मिक पर्यटकीय स्थल ‘झाँर्की पार्क’ निर्माणमा प्रदेश सरकारले सहयोग गरेको छ । प्रदेश सरकारको करिब २ करोड ८३ लाख ७० हजार लागतमा पार्क निर्माण भएको हो ।
आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पार्क निर्माण गरिएको महालक्ष्मी नगरपालिका पूर्वप्रमुख पर्शुराम नेपालले बताए । पार्कबाट प्रवेश गरेपछि वनझाँर्कीको मूर्ति देख्न सकिन्छ । त्यसो त पार्कसँगै उकालो चड्ने करिब ११ बटा सिंढी निर्माण गरिएको छ ।
सँगसँगै पर्यटकहरूलाई बस्न तथा आराम गर्न विश्रामस्थल निर्माण गरिएको छ । यस क्षेत्रबाट विश्वको होचो ‘अरुण उपत्यका’को मनोरम दृश्यावलोकनसँगै विभिन्न हिमश्रृंखलाहरू हेर्न सकिन्छ । यस पार्कलाई थप आकर्षित बनाउने नगरपालिकाको योजना छ । जसले नगरपालिकाको आर्थिकोपार्जनमा थप टेवा पुर्याउने विश्वास लिइएको छ ।
पटेक डाँडालाई बनाइँदै पर्यटकीय गन्तव्य
धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ मा अवस्थित पर्यटकीय स्थल ‘पटेक डाँडा’ लाई प्रवर्द्धन गर्न विभिन्न पूर्वाधारहरू निर्माण भइरहेका छन् । समुद्री सतहबाट करिब २ हजार ७०२ मिटर उचाइमा रहेको यो स्थानमा आन्तरिकसँगै बाह्य पर्यटक आउने गरेका छन् ।
सिधुवा बजारको हलहलेबाट ११८ मिटर कच्ची सडक, २२७ मिटर सिंढी र ४६३ मिटर रेलिङ निर्माण भइसकेको छ । गाउँपालिकाले २०७५ सालमा हलहले पटेका डाँडा प्रारम्भिक बाटो निर्माणका लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत १० लाख रुपैयाँ लगानी गरेको थियो ।
आर्थिक बर्ष २०७५/०७६ मा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत २० लाख, आर्थिक बर्ष २०७५/०७६ मा प्रदेश सरकारको पर्यटन मन्त्रालयबाट २० लाख लगानी भएको छ ।
आर्थिकोपार्जनमा टेवा
पूर्वकी ‘रानी’ उपनामले चिनिने धनकुटामा प्रदेश सरकारले पर्यटकीय क्षेत्रमा लगानी बढाउँदा यहाँको आर्थिकोपार्जनमा थप टेवा पुगेको छ । भौतिक पूर्वाधार निर्माण भएसँगै पर्यटकहरू सहजै गन्तव्यमा पुग्न थालेका छन् । आन्तरिक तथा बाह्य (विशेष भारतीय) पर्यटकहरूले धनकुटाका पर्यटकीय क्षेत्र भरिभराउ हुने गरेका छन् ।
पर्यटन कार्यालय धरानका अनुसार पर्यटकीय क्षेत्रमा विभिन्न कार्यक्रम तथा काम भइरहेको छ । होमस्टे दर्ता, नविकरण, खारेजी र ट्राभल एजेन्सिहरूलाई ईजाजत प्रदान गर्ने लगायतका काम भइरहेको पर्यटन कार्यालय धरानका प्रखुम विषम राईले जानकारी दिए ।
पर्यटकीय क्षेत्रमा लगानी बढ्दै जाँदा स्थानीय उत्पादनको खपत बढेको छ भने होटल, होमस्टे लगायतका व्यवसाय फस्टाएका छन् । यसले स्थानीय स्तरमै रोजगारीको सिर्जना गर्नुका साथै राम्रो आर्थिकोपार्जनमा टेवा पुर्याउने जानकारहरू बताउँछन् ।
ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचार–प्रसार पनि तीब्र हुन थालेका छन् । जसले उक्त क्षेत्रलाई चलायमान हुन थालेका छन् ।
यता कोशी प्रदेश सरकारले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि पर्यटन वर्ष २०८२ लाई उत्सवको रूपमा लिएको छ । यसले पर्यटनसँग सम्बन्धित नीति निर्माण, संरचनाहरूको निर्माण र पर्यटकीय पूर्वाधार विकास गर्दै पर्यटनमार्फत समृद्धिको आधार खोजी गर्ने अवसर मिलाएको जानकारहरू बताउँछन् ।
पर्यटन वन तथा वातावरण मन्त्रालयका अनुसार पर्यटन सम्बन्धि शीर्षकमा ७ करोड रकम विनियोजन भएको छ । प्रदेश सरकारले पर्यटन वर्ष २०८२ का लागि ८२ स्थान छनोट गरेको छ । यसले अन्य पर्यटकीय गन्तव्यको प्रचार तथा प्रवद्र्धनमा पनि महत्वपूर्ण भूमिका खेल्ने लक्ष्य राखिएको छ ।