धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-७ धरधरेमा गिटीको थुप्रोभित्र युवकको शव फेला परेको छ । जितपुर-लेगुवा सडक खण्डस्थित निर्माणाधीन सडकको छेउमा राखिएको गिटीको थुप्रोमा महालक्ष्मी-१, कटहरेका २५ वर्षीय दिपेश कटुवालको शव फेला परेको हो ।
थुपारेर राखेको ग्राभेल सम्याउने क्रममा आइतबार दिउँसो करिब २ बजे ग्राभेलभित्र मान्छेको खुट्टा देखिएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरी टोली पुगेर गिटी पन्छाएर मृतकको शव निकालेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
‘ग्राभेल पन्छाउने क्रममा सुरुमा खुट्टा देखिएछ, पछि प्रहरी पुगी शव निकालेर पहिचान गरिएको हो,’ डीएसपी खनालले संगालोखबरसँग भने, ‘सामान्य तरिकाले हेर्दा मृतकको शरीरमा चोटपटक देखिएको छैन, घटना के हो भन्ने विषयमा हामीले थप अनुसन्धान गर्दैछौ ।’
मृतक कटुवालको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको छ । उनी गत शुक्रबार बिहान बजार जान भनेर घरबाट हिँडेका थिए । त्यसपश्चात् सम्पर्कविहीन रहेका उनको शव दुईदिनपछि पुरिएको अवस्थामा भेटिएको हो ।
कुनै पेशा व्यवसाय पनि नगर्ने उनी अविवाहित हुन् । घटना रहस्यमय देखिएपछि केही व्यक्तिहरूलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।