विराटनगर । नेपाल गर्गाचार्य विश्वभाषा पुस्तकालय धनकुटाले विभिन्न क्षेत्रमा योगदान पुर्याउने पाँच जना व्यक्तिसहित स्रष्टालाई सम्मान गरेको छ । शनिबार पुस्तकालयले एक कार्यक्रमकाबीच सम्मानपत्र, दोसल्ला र नगदसहित उनीहरूलाई सम्मान गरेको हो ।
लक्ष्मीकान्त देव्यकन्या रुक्मिणी स्मृति पुरस्कारबाट सुनसरीका पं. रेवतीप्रसाद घिमिरे सम्मानित भए । पूर्वीय दर्शनको श्रीवृद्धिको लागि योगदान पुर्याएको भन्दै नगद पाँच हजार एक सय एघार रुपैयाँसहित उनलाई सम्मान गरिएको हो ।
साहित्य सिर्जनामा योगदान पुर्याएको भन्दै दाङको तुलसीपुर-६ गोलौरा की कवि बुनु लामिछाने मधुश्री विशिष्ट साहित्य पुरस्कारबाट सम्मानित भइन् । उनलाई १५ हजार एक सय एघार रुपैयाँ नगदसहित सम्मान गरिएको छ ।
त्यस्तै लामो समयदेखि लोक गीत तथा संस्कृतिको क्षेत्रमा योगदान पुर्याउने मोरङको सुन्दरहरैँचाका स्व.धरणीधर गुरागाईं परिवारलाई भाष्कर लामिछाने लोक संस्कृति पुरस्कारबाट सम्मान गरियो ।
उनलाई ५ हजार एक सय एघार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । यस्तै समाजसेवामा योगदान पुर्याएको भन्दै धनकुटाका द्रोणप्रसाद गुरागाईलाई कृष्णकुमारी वेणीमाधव समाजसेवा पुरस्कारबाट सम्मान गरिएको छ ।
उनलाई नगद १० हजार एक सय एघार रुपैयाँ नगदसहित सम्मान गरिएको आयोजकले जनाएको छ । त्यस्तै साहित्य सिर्जनामार्फत बिर्तामोड झापाकी कवि मनु विश्वकर्मालाई नगद पाँच हजार एक सय एघार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो ।
यस्तै धनकुटा नगरपालिका-९ स्थित मूलघाटमा रहेको विश्रान्तिधाम संस्कति गुरुकुललाई संस्कृत भाषा तथा बाङ्मयको संरक्षणमा विशिष्ट योगदान पुर्याएको भन्दै नगद पाँच हजार एक सय एघार रुपैयाँसहित सम्मान गरिएको आयोजक संस्थाका महासचिव मुकुन्द प्रयासले बताए ।
सम्मानित हुने व्यक्ति तथा संस्थालाई धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पाख्रेल, गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयका संस्थापक तथा संरक्षक टीकाप्रसाद लामिछाने लगायतले सम्मान गरेका थिए ।