विराटनगर । पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा तीन जना मजदुरको मृत्यु भएको छ । शनिबार साँझ ६ बजे बेलिब्रिज खस्दा घाइते भएका बाराको सिमरा उपमहानगरपालिकाका २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र सोही ठाउँका २२ वर्षीय प्रकाश चौधरीको मृत्यु भएको हो ।
उनीहरूको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी कौशलकुमार बुढाथोकीका अनुसार सिमराकै भुलेश्वर चौधरी, प्रकाश चौधरी र अभिषेक चौधरी घाइते भएका छन् । उनीहरूको नोबेल अस्पतालमै उपचार भइरहेको छ ।
मेची राजमार्गअन्तर्गत पाँचथर खण्डमा रहेको हेवा खोलाको पक्की पुल पहिलो पटक २०८० असार २ गतेको बाढीले बगाएपछि राखिएको बेलिब्रिज २०८१ गत असोज १२ गते आएको बाढीले बगाएको थियो ।