
विराटनगर । उदयपुरबाट हराएको बस सिरहाको गोलबजार-६ स्थित गुम्बा चोकमा भेटिएको छ । सोमबार बिहानको राति करिब २ बजेतिर कटारी नगरपालिका-३ स्थित कटारी बसपार्कबाट पार्किङमा राखिएको बस हराएको थियो ।
प्रहरीका अनुसार पार्किङ गरेर राखिएको मधेश प्रदेश ०२-००१ ख ०२५२ नम्बरको रातो रंगको बस चोरी भएको भनेर चालकले जानकारी गराएका थिए । खोजी गर्ने क्रममा गोलबजारमा फेला परेको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईँले जानकारी दिए ।
‘सोमबार बिहानको राति बस हराएको भनेर हामीलाई जानकारी आएको थियो । खोजतलास गर्दै जाँदा त्यहाँ छाडेको अवस्थामा फेला पार्यौं’, डीएसपी बजगाईँले संगालोखबरसँग भने, ‘सोमबार बेलुका नै फेला परेको हो । बस जसको हो उसले जिम्मा लिइसकेको छ ।’
उनीहरूकै साथी सर्कलले बस लिएर गएको र त्यहाँ छोडेको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिएको छ । केही समय अगाडि सुनसरीको धरानबाट ग्यारेजमा राखेको बस चोरी भएको थियो । उक्त बस पाटपुर्जा बिक्री हुँदै गरेको अवस्थामा विराटनगरमा फेला परेको थियो ।