विराटनगर । नेपाल र भारतका युवा उद्यमीहरूको सम्मेलन झापामा सम्पन्न भएको छ । नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको आयोजनामा आइतबार झापाको मेची क्राउन होटलमा दुई देशका युवा उद्यमीहरूको सम्मेलन गरिएको हो ।
कार्यक्रममा नेपाल र भारतका करिब एक सय उद्यमीहरू सहभागि भएका थिए । उनीहरूले आफ्नो व्यवसायबारे बी–टु–बी पिच प्रस्तुत गर्दै उत्पादन र सेवाको परिचय दिए । त्यसपछि व्यक्तिगत रूपमा कोर बी–टु–बी सेसनहरू सञ्चालन गरिएको थियो । जसमा सहभागीहरूले आपसी सहकार्य, लगानीको सम्भावना, आयात-निर्यात र व्यवसाय विस्तारसम्बन्धी संवाद गरेका छन् ।
कार्यक्रममा युवा उद्यमी मञ्च विराटनगरका अध्यक्ष शुभम भट्टराईले दुई देशका उद्यमीहरूबीच दीर्घकालीन सहकार्यको आधार तयार पार्न सम्मेलनले सघाउ पुर्याउने विश्वास व्यक्त गरे । भारतीय प्रतिनिधिहरूले नेपाल र भारतबीचको उद्यमशील साझेदारीलाई अझ मजबुत बनाउन उत्साहित भएको प्रतिक्रिया दिदै भविष्यमा यस्ता कार्यक्रम भारतका विभिन्न शहरहरूमा पनि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रमले युवा व्यवसायीबीच मित्रता, विश्वास र भविष्यका सम्भावनाहरूको सेतु निर्माण गरेको युवा उद्यमी मञ्च विराटनगरका उपाध्यक्ष एवं कार्यक्रमका संयोजक रोमन कट्टेलले जानकारी दिए ।