
विराटनगर । कोशी प्रदेशका दुई जिल्लाबाट लागूऔषधसहित नौ जना पक्राउ परेका छन् । आइतबार मोरङ र पाँचथरका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित नौ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारी र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-७ का ३८ वर्षीय मिथुन भन्ने रजत थापालाई ५५ ग्राम ब्राउन सुगर, दुई लाख ८८ हजार दुई सय ५० रुपैयाँ नगद र दुई वटा डिजिटल तराजुसहित उनकै घरबाट पक्राउ गरेको हो ।
त्यसैगरी लागूऔषध नियन्त्रण ब्युरो विराटनगरले चार ग्राम ५८० मिलिग्राम ब्राउन सुगरसहित सुन्दरहरैँचा-३ का २१ वर्षीय निरन लिम्बुलाई विराटनगर महानगरपालिका-१६ बाट पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीले बेलबारी-२ लालभित्तीबाट सोही स्थानका २८ वर्षीय बिट्टु भगत र सुन्दरहरैँचा-१२ का ३४ वर्षीय मिथलेश शर्मालाई दुई सय ५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
त्यस्तै पाँचथरको फिदिम नगरपालिका–२ बाट तीन ग्राम ५१० मिलिग्राम ब्राउन सुगरसहित २७ वर्षीय दिपेन केरुङ, २३ वर्षीय बिरबल राई, ३० वर्षीय गणेश सुजी, ३२ वर्षीय पर्वत तामाङ र १९ वर्षीया रिदिमा बर्देवा पक्राउ परेका छन् ।
उनीहरूका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट आवश्यक अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।