विराटनगर । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१४ बुइपा स्थित पञ्चदोबाटोमा किरातकालीन राजा यलम्बरको पूर्ण कदको प्रतिमा निर्माण गरिएको छ । कोशी प्रदेश सरकारको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लगानीमा यलम्बरको प्रतिमासहितको यलम्बर पार्क निर्माण गरिएको हो ।
३० रोपनी सरकारी जग्गामा निर्माण गरिएको यलम्बरको प्रतिमा एक सय १० फिट अग्लो छ । प्रतिमासहितको पार्क निर्माणमा करिब १४ करोड रुपैयाँ लागत लागेको छ । आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिने गरी निर्माण गरिएको यलम्बर पार्कभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे ट्रष्टसहितको कुर्सी, निःशुल्क वाइफाई, कफी तथा फास्ट फुड सेवा उपलब्ध हुने छन् ।
वडा कार्यालयका अनुसार आधुनिक प्रविधिको प्रयोग गरेर निर्माण गरिएको पार्क निक्कै आकर्षक बनेको छ । यसले नगरपालिकाको आन्तरिक श्रोत वृद्धि हुने अपेक्षा गरिएको छ । यो प्रतिमा विश्वकै सबैभन्दा ठूलो र अग्लो भनेर दाबी गरिएको भएपनि यसको प्रमाणित हुन भने बाँकी छ ।
किरात समुदायको इतिहासलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने उद्देश्यले यलम्बरको पूर्ण कदको प्रतिमासहितको यलम्बर पार्क निर्माण गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ । पार्कमा भएको आम्दानीमध्ये ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत प्रदेश सरकारमा जम्मा हुनेगरि सम्झौता भएको नगरपालिकाको भनाइ छ ।
यलम्बर पार्क निर्माण सम्पन्न भएको एक महिना बितिसक्दा पनि नगरपालिकाले रकम भुक्तानी नदिएको ठेकेदार कम्पनीले जनाएको छ । पार्कको जेठ १७ गते उद्घाटनको तयारी गरिएको भएपनि भुक्तानी रोकिएका कारण उद्घाटन हुन नसकेको जनाइएको छ । कम्पनीका अनुसार नगरपालिकाले तीन करोड भुक्तानी गर्न बाँकी छ ।
नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार प्रदेश सरकारको दायित्वअन्तर्गतको बजेट नगरपालिकामा प्राप्त नभएकाले ठेकेदार कम्पनीलाई भुक्तानी दिन समस्या भएको हो । प्रदेशबाट बजेट आउने बित्तिकै कम्पनीलाई भुक्तानी गर्ने उनको भनाइ छ ।