
धनकुटा । धनकुटामा विश्व खाद्य स्वच्छता दिवस मनाइएको छ । ‘खाद्य पदार्थमा स्वच्छता : विज्ञानको अपरिहार्यता’ भन्ने मुला नाराका साथ खाद्य स्वच्छता दिवस मनाइएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाको आयोजनामा भएको कार्यक्रममा खाद्य सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गराइएको थियो । खाद्य पदार्थको उत्पादनदेखि उपभोगसम्मका सम्पूर्ण चक्रमा स्वच्छता र वैज्ञानिक तरिकाको प्रयोग अनिवार्य रहेकोमा जोड दिइएको थियो ।
कार्यक्रममा खाद्यजन्य रोगबाट जोगिन स्वच्छता र वैज्ञानिक विधिको प्रयोग कसरी गर्ने भन्ने विषयमा जानकारी गराइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलयका खाद्य निरीक्षक सुशील कोइरालाले जानकारी दिए ।
यस्तै स्वच्छ जीवनशैलीको लागि लेबल विवरण नपुगेका, उपयोग म्याद सकिएका खाद्य पदार्थ नकिन्न तथा बिक्री वितरण नगर्न, खाद्य पदार्थमा रङ्ग तथा मसला प्रयोग नगर्न अनुरोध गरिएको थियो ।
तेल तथा घ्यूलाई पटक-पटक तातो बनाएर प्रयोग नगर्न समेत अनुरोध गरिएको थियो । खाद्य पदार्थको सिधा सम्पर्कमा आउने गरी मसीले लेखिएको छापिएको वा रङ्गाइएको कागज प्रयोग नगर्न सुझाव दिइएको छ ।
कार्यक्रममा जनप्रतिनिधि, उपभोक्ता, अधिकारकर्मी, व्यवसायी, तथा सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।

सन्तोष सुवेदी/संगालोखबर 













