
धनकुटा । धनकुटामा सञ्चालित एक दर्जन बढी होटलहरूको अनुगमन गरिएको छ । आज खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च, साँगुरीगढी गाउँपालिका र प्रहरी चौकी मुलघाटको संयुक्त टोलीले होटलहरूको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा भेटिएका अखाद्य बस्तु तथा पेयपदार्थ जफत गरि नष्ट गरिएको छ । कोशी राजमार्ग अन्तरगत भेडेटार-धनकुटा सडक खण्ड अन्तरगत धनकुटा नगरपालिका र साँगुरीगढी गाउँपालिकाका होटलहरूको अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा म्याद गुज्रिएका पेय पदार्थ लगायतका बस्तु फेला परेका थिए । उक्त अखाद्य बस्तु जफत गरि सोही स्थानमा नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षण अधिकारी सुशील कोइरालाले जानकारी दिए ।

उनका अनुसार धेरै जसो होटलहरूमा सरसफाइ नभएको पाइएकाले सरसफाइमा ध्यान दिन र आगामी दिनमा यस्तो पाइए कारबाही गर्ने चेतावनी दिएको उनले बताए ।