
विराटनगर । सप्तकोसी नदीमा दुई गोताखोर बेपत्ता भएका छन् । विपद्जन्य घटनाको पूर्वअभ्यास गर्ने क्रममा आज दिउँसो सशस्त्र प्रहरीका दुई गोताखोर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा सशस्त्र प्रहरीका जवान सुरज साउद र हरदेव राजवंशी छन् ।
सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालयले बाढीपहिरोबाट विपद्मा परेकाहरूलाई उद्धार गर्नका लागि उद्धार अभ्यास गराएको थियो ।
प्रहरीका अनुसार २४ मनसुनको समयमा हुन सक्ने विपद्जन्य घटनाको पूर्वअभ्यास कार्यक्रम तय थियो । सोही कार्यक्रमको तयारीका लागि अभ्यास गर्ने क्रममा गोताखोर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कोसी ब्यारेजको ५६ नम्बर ढोकातर्फ अभ्यासका क्रममा उनीहरू बेपत्ता भएका हुन् । अहिलेसम्म उनीहरूको अवस्था अज्ञात रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।