
विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका-२ बाट गाँजा ओसार-पसारमा संलग्न दुई महिला पक्राउ परेका छन् । प्रहरीका अनुसार चौदण्डीगढी-१ की रत्नमाया श्रेष्ठ र सोही स्थानकी ४२ वर्षीया कमला श्रेष्ठ पक्राउ परेका हुन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले रत्नमायाको घर खानतलासी गर्दा एक हजार एक सय ४३ किलो गाँजा बरामद भएको हो ।
३५ वटा पोका बनाएर लुकाएर राखेको अवस्थामा गाँजा भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।
यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोसी नदीमा वेवारिसे अवस्थामा दुई सय किलो गाँजा फेला पारेको छ । सो सम्बन्धमा पनि प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ ।

संगालोखबर 













